सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

'सामान्यतः दैनिक सात किलोभन्दा बढी माछा बिक्रि हुने गरेको छ। मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ। त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन'

गोरखा- गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ। विसं २०६७ देखि धार्चे गाउँपालिका-३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अर्गानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय सुरू गर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो। उत्पादन सुरू भएपछि भने त्यस्तो चिन्ता कहिल्यै गर्नु परेको छैन। 

तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अर्गानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताए।

'अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ। त्यसले माछा फार्ममा आउनेहरूको मागमात्रै पूर्ति गर्न सकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन', गुरुङले भने।

अर्गानिक होममा आउने पाहुनाले प्रतिकेजी दुई हजार रुपैयाँमा आफैले पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बासबस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उनले बताए।

उनका अनुसार घरमा लैजान चाहनेलाई प्रतिकिलो एक हजार सात सय रुपैयाँमा बिक्री गर्ने गरिएकामा फार्मबाट दैनिक सात किलोभन्दा बढी र माघमा लाग्ने तातोपानी मेलाको समयमा भने दैनिक तीन क्वीन्टलसम्म माछा बिक्री हुने गरेको छ।  

'सामान्यतः दैनिक सात किलोभन्दा बढी माछा बिक्रि हुने गरेको छ। मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ। त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन', उनले भने। 

धार्चेको पानी हिमालबाट आउने र धेरै चिसो हुनेभएकाले यहाँको माछा स्वादिष्ट हुने स्थानीयको भनाइपछि आफूले त्यसको सदुपयोग गर्दै व्यावसायिक आयआर्जन सुरू गरेको बताउने गुरुङले व्यवसाय विकासमा केही चुनौती रहे पनि निराश हुने अवस्था भने नरहेको बताए।

'समस्या र चुनौती त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँठाउँमा पनि उद्यम गरेर खान सकिन्छ भन्ने उहाहरण म आफैँ हुँ। त्यसैले अरु युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्नसक्नुपर्छ', गुरुङको भनाइ छ। रासस


प्रकाशित : आइतबार, वैशाख २३ २०८११२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend