सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

विभिन्न समयमा फलफूलखेती हुने गरेको र त्यसबाहेकको समयमा जंगली फूलबाट मौरीले मह उत्पादन गर्ने गरेका छन्।

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन्। तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ।
 
गैँडाकोट नगरपालिकामा सञ्चालित आधारभूत मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायमा तीन तहकै सरकारले दिने अनुदान बढाउनुपर्ने माग गरेका छन्।

तालिममा सहभागी प्रदीप सापकोटाले घरायसी प्रयोजनका लागि मात्र मौरीपालन गर्दै आएको भन्दै तालिमका कारण मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रेरणा मिलेको बताए। पछिल्लो समय तोरी फुल्ने बेलामा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्नाले मौरीपालक किसानलाई समस्या भएको उनले बताए।
 
'जिल्लामा मौरीपालनको वातावरण छ', उनले भने, 'मौरीले फूलको रसमात्रै सेवन नगरी बालीमा परागसेचनको कामसमेत गर्ने हुँदा यसबारे चेतना फैलाउन आवश्यक छ।'

जिल्लामा विभिन्न समयमा फलफूलखेती हुने गरेको र त्यसबाहेकको समयमा जंगली फूलबाट मौरीले मह उत्पादन गर्ने उनले बताए। स्थानीय, प्रदेश र संघीय सरकारले मौरीपालक किसानका समस्या समाधान गर्दै मह आयातमा प्रतिबन्ध लगाउनुपर्ने सापकोटाले बताए। 

व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका किसान चन्द्रबहादुर केसीले आफूहरूको समस्या कुनै पनि सरकारले नसुनेको गुनासो गर्दै गैँडाकोट नगरपालिकालाई किसानको समस्या सुन्न र समाधानमा सहयोग गर्न आग्रह गरे।

'किसानले उत्पादन गरेको मह बजारीकरणमा समस्या छ', उनले भने, 'गुणस्तरहीन मह खुला रूपमा बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ।' सरकारको गलत नीतिका कारण आफूहरूले उत्पादन गरेको मह बिक्री नभएको केसीले गुनासो गरे। 

सागर मौरीपालन उद्योगका प्रबन्ध निर्देशक करुणासागर सुवेदीले मौरीपालनका समस्या समाधान गर्न सामाजिक संघसंस्थासँग मिलेर वृक्षरोपण गर्न आवश्यक भएको बताए।

साथै उनले गैँडाकोट नगरपालिकाले नगरपालिकाको जम्मा बजेटको शून्य दशमलव ५८ प्रतिशत बजेटमात्र कृषिमा छुट्याउनु दुःखद भएको बताए।

आगामी वर्षको बजेटमा कृषि क्षेत्रको समग्र बजेट बढाउँदै मौरीपालक किसानका समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए। 

गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले कृषि क्षेत्रमा कम रकम परेकामा आफू जानकार रहेको भन्दै आगामी वर्ष कृषिको बजेट बढाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्। मौरीपालक किसान लक्ष्यित  कार्यक्रम सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको उनले जानकारी दिइन्। रासस


प्रकाशित : आइतबार, वैशाख २३ २०८१०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend