सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

शनिबार, वैशाख २२ २०८१
क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो।

म्याग्दी- क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका-२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ। 

माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो। बेनी नगरपालिका-२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न थालेको जानकारी दिए।

'गत मङ्सिरमा तीन सय ८२ किसानको माटो परीक्षण गर्ने क्रममा दुई सय ६५ वटा नमूना माटोमा अम्लियपना अत्यधिक भेटिएको थियो,' उनले भने, 'प्रयोगशालाका प्राविधिकहरुको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण सुरु गरेका हौँ।' 

प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलो कृषि चुन उपलब्ध गराएको छ। प्रतिकिलो १० रूपैयाँ मूल्य पर्ने कृषि चुनका लागि कृषकले २.५ रूपैयाँ तिर्नुपर्नेछ। रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लियपना बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले बताए।

'उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ। यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पुर्‍याएको छ,' उनले भने, 'यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३/३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ।'

बेनी नगरपालिका-२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र विषादीको प्रयोग घटाउन एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) कृषक पाठशाला सञ्चालन गरिएको बताए।

गत वर्ष भकुण्डेमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपालि बगरफाँटमा सञ्चालन भएको उनले बताए। बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीमा पनि हालै माटो परीक्षण शिविर सञ्चालन गरेको थियो। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend