सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

रासायनिक विषादीको प्रयोग घटाउन ‘आईपीएम’ कृषक पाठशाला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
रासायनिक विषादीको प्रयोग घटाउन ‘आईपीएम’ कृषक पाठशाला

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी-२ को बगरफाँटमा काँक्रो र मङ्गला गाउँपालिका-२ तोराखेतमा आलु खेतीका लागि सञ्चालन भएको पाठशालामा २५/२५ कृषक सहभागी भएका छन्।

म्याग्दी- कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्रांगारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन भएको छ। 

बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन्। आईपीएम सहजकर्ता सोवित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आईपीएम कृषक पाठशाला सञ्चालन गरिएको जानकारी दिए। 

'कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ', उनले भने, 'हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ।'

शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा पल्ट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातको काक्रो, आलु र गोलभेँडाको सामुहिक खेती गरिएको छ। बेनी-१ अर्जममा बाली संरक्षण प्रयोगशालाको सहयोगमा गोलभेँडा खेतीका लागि आयोजना भएको आईपीएम पाठशालामा २९ जना कृषक सहभागी भएका उनले जानकारी दिए। 

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी-२ को बगरफाँटमा काँक्रो र मङ्गला गाउँपालिका-२ तोराखेतमा आलु खेतीका लागि सञ्चालन भएको पाठशालामा २५/२५ कृषक सहभागी भएका छन्। बेनी-३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नं ५ को बगुवाखोला, वडा नं ९ तोरीपानी र वडा १० नं पात्लेखेतमा आलु खेतीका लागि उक्त पाठशाला सञ्चालन गरिएको छ। 

ती सबै पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी भएका आईपीएम सहजकर्ता शर्माको भनाइ छ। बेनी-६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ। 

बेनी-१ अर्जमको देउराली आईपीएम कृषक समूहका अध्यक्ष तुलसी थापाले स्थानीयस्तरमा उपलब्ध प्रांगारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताए। 

'तितेपाती, असुरो, खरानी, गाइभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौँ', उनले भने, 'रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्रांगारिक खेती गर्न थालेका छौँ।'

'खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ। कुन जिव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ', कृषक सुन्दर थापामगरले भने। 

पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आईपीएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए।

'आईपीएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका छौँ', उनले भने, 'परम्परागत तुलनामा आईपीएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ।' 

गत आर्थिक वर्षमा बेनी-१ उपल्लाचौर, वडा नं २ को भकुण्डेचौर, वडा नं ६ को छाप र वडा नं ४ को सिङ्गामा सञ्चालन भएको आईपीएम कृषक पाठशाला प्रभावकारी बनेको थियो।

बेनी-१ की कृषक सावित्री थापाले रासायनिक विषादी र मलको प्रयोग घटाइ प्रांगारिक मल र जैविक विषादीबाट स्वच्छ कृषिउपज उत्पादन गर्न थालिएको बताइन्। एउटा पाठशाला सञ्चालन गर्न एक लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend