सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

रोजगारीको सिलसिलामा सिंगापुर र साउदी अरबमा सात वर्ष  बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन्।

त्रिवेणी (नवलपरासी)- बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन्।

करिब तीन बिघा जग्गा भाडामा लिएर  तरकारीखेती गर्दै आएकामा उहाँले यसपटक खरबुजा फलाउएका छन्। 'पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि  खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ', उनले भने।

वरपर कतै चैतेधान कतै मकै लगाइएको छ। हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताए। सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताए। 

चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले बताए। छ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनको भनाइ छ। 

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताए। जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ। आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताए।

'यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्', उनले भने। खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उनले उल्लेख गरे। 

रोजगारीको सिलसिलामा सिंगापुर र साउदी अरबमा सात वर्ष  बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन्।

कावासोती नगरपालिका-१७ का वडासदस्यसमेत रहेका उनले विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लालेका हुन्। 'रोजगारीका लागि  विदेश नै जानुपर्छ भन्ने छैन। कृषिकर्मबाट पनि कमाउन सकिन्छ', उनले भने। रासस


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend