सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

म्याग्दीमा यसवर्ष बेचियो २१ करोड ६० लाख रुपैयाँको सुन्तला

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २० २०८१
म्याग्दीमा यसवर्ष बेचियो २१ करोड ६० लाख रुपैयाँको सुन्तला

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन्।

म्याग्दी- म्याग्दीका किसानले सुन्तला बेचेर यसवर्ष २१ करोड ६० लाख रुपैयाँ भित्र्याएका छन्। सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो।

म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो। सुन्तला प्रतिकिलो ५५ देखि ६० रुपैयाँका दरले बिक्री भएको छ।

बेनी नगरपालिकाबाट सबैभन्दा बढी ३ करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ। मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ।

धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार तथा रघुगङ्गाबाट २५ लाखको सुन्तला बिक्री भएको उनले बताइन्। बेनी नगरपालिका-३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाखको सुन्तला निकासी भएको छ।

बेनी नगरपालिका-४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए।

म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए।

'सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ', उनले भने, 'अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो।'

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका-३ राखुका किसान खिम पुनले बताए।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन्।

यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन्। सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २० २०८११५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend