सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

चितवनको इच्छाकामनामा बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन

मंगलबार, वैशाख १८ २०८१
चितवनको इच्छाकामनामा बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन

बाँझो जमिनमा खेती गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रूपैयाँ विनियोजन गरेको छ। किसानलाई अनुदानका लागि वडा कार्यालयमार्फत माग फारम भर्न आग्रह गरिएको छ।

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ।

गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले भने, 'रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँझो जमिनलाई सदुपयोग गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिनेछौँ।'

बाँझो जमिनमा खेती गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रूपैयाँ विनियोजन गरेको छ। किसानलाई अनुदानका लागि वडा कार्यालयमार्फत माग फारम भर्न आग्रह गरिएको छ।

कार्यक्रमअनुसार साना सिचाँइका लागि अनुदान प्रदान गर्न लागिएको हो। बाँझो जग्गामा खेती गर्ने किसानलाई सिँचाइ र कृषि औजारमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ।

इच्छाकामना गाउँपालिकामा रहेका बाँझो जमिनको तथ्यांक संकलन गरी थप अनुदानका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङको भनाइ छ। उनले भने, 'गाउँपालिकाभर कति बाँझो जग्गा छ, तथ्यांक संकलन गर्दैछौँ, सोही आधार आगामी आर्थिक वर्षमा अनुदानका थप कार्यक्रम सञ्चालन गर्नेछौँ।'

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार इच्छाकामनामा कोदो, घैया धान, गहुँ जौ, सामा, काउनो लगायतका रैथाने बालिको राम्रो उत्पादन हुन्छ। तर पछिल्लो समय  किसानले यी बालीको खेती गर्न छाडेका कारण प्रोत्साहनका  लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

रैथाने बालीमार्फत इच्छाकामनालाई आत्मनिर्भर बनाउन सकिने प्रमुख  त्रिपाठीको  भनाइ छ। अनुदानका कार्यक्रमले रैथाने बाली उत्पादनमा किसानलाई प्रोत्साहन मिल्ने उनको विश्वास छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend