शुक्रबार, जेठ ४ गते २०८१    
images
images

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा गोविन्द, मासिक डेढ लाख आम्दानी

images
मंगलबार, वैशाख १८ २०८१
images
images
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा गोविन्द, मासिक डेढ लाख आम्दानी
फाइल तस्बिर

दुई/दुईपटक वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा तरकारी खेतीको कमाइले तिर्न भ्याएको उनी सुनाउँछन्। विदेशमा गर्ने जस्तो परिश्रम स्वदेशमै गरे सोचेकोभन्दा बढी आम्दानी गर्न सकिने उनी बताउँछन्।

images
images

कञ्चनपुर- वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका-३ पीपलाडीका गोविन्द दहित तरकारी खेतीमा रमाउँदै आएका छन्। तरकारी खेती गरेर उनले मासिकरुपमा एक लाख ५० हजार रूपैयाँजति आम्दानी गर्दै आएका छन्।

images
images
images

बाह्रै महिना दहितले खेतमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन्। 'दैनिक सात हजार रूपैयाँजतिको तरकारी बिक्री हुन्छ,' उनले भने, 'दुई हजार ढुवानी खर्च कटाएर रु पाँच हजार बचत हुन्छ।'

images

दहितले अफ्नो स्वामित्वको डेढ बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन्। चैत महिनादेखि बैशाखको हालसम्म उनले तीन लाख रूपैयाँको तरकारी बिक्री गरेका छन्। उनले बारीमा लौका, खुर्सानी, फर्सी, तोरिया, तीते करेला, तरभूजा, काँक्रा फलाएका छन्। तरकारीका लागि खेत तयार गर्ने, सिँचाइ, मल, बीउसम्म गरी ६० हजारजति लगानी गरिएको दहितले बताए।

images
images

कम्तीमा ४० देखि एक सय २० रूपैयाँ प्रतिकिलो थोकमा तरकारी बजारसम्म पुर्‍याएर बिक्री गरिँदै आएको उनको भनाइ छ। 'थोरै तरकारी टिपेको दिन नजिकैको झलारी बजारसम्म मोटरसाइकलमा तरकारी पुर्‍याएर बिक्री गर्छौँ', उनले भने, 'बढी तरकारी टिपेको बेला ट्र्याक्टर र अटोमा तरकारी ढुवानी गरी महेन्द्रनगरस्थित तरकारी बजारमा पुर्‍याएर बिक्री गर्छौँ।'

images
images

बजारमा अग्र्यानिक तरकारीको माग बढी भएकाले घरमै उत्पादन भएको जैविक मललाई बढी प्रयोगमा ल्याउने गरेको उल्लेख गर्दै उनले कीराको प्रकोप भएका बेला घरमै बनाइएको जैविक विषादीको प्रयोग गरिँदै आएको बताए।

उनका अनुसार बर्सातका बेला लौका, काँक्रा, फर्सी, चिचिण्डा, तोरिया, घिरौँला र हिउँदमा गोलभेँडा, खुर्सानी, काउली, बन्दा, रामतोरिया, हरियो सागपात, धनियाँ, आलु, प्याजलगायतको तरकारी उत्पादन हुने गरेको छ। तरकारी खेतीबाटै बढी आम्दानी हुने भएकाले अन्नबाली भने दहितले लगाउन छाडेका छन्।

तरकारी खेतीको कमाइबाट दहितले खेत जोत्नका लागि पावर टिलर, सिँचाइका लागि विद्युतीय मोटर खरिदसँगै पक्की घर निर्माणका लागि जग हाल्ने कार्य गरेका छन्। सरकारी तवरबाट सञ्चालन हुने तरकारी उत्पादनसम्बन्धी तालिम र अनुदानका कार्यक्रममा भने दहितलाई अहिलेसम्म समेटिएको छैन। स्थानीय किसानले गरेको तरकारीखेती लगाउने तौरतरिका सिकेर तरकारी खेतीमा व्यावसायिक रुपमा लागेको उनको भनाइ रहेको छ।

दुई/दुईपटक वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा तरकारी खेतीको कमाइले तिर्न भ्याएको उनी सुनाउँछन्। 'गाउँको समूहबाट एक लाख ५० हजार कर्जा लिएर वैदेशिक रोजगारीबाट मनग्य कमाइ हुने अभिलाषा बोकेर मलेसिया पुगे दहितले भने, 'आकर्षक तलब, ओभरटाइम हुन्छ भनेकाले गतिलो कमाइ हुने ठानेर त्यसतर्फ लागेँ, मलेसिया पुगेपछि १८ घण्टा काम गर्दा महिनामा २० हजार जति तलब दिइन्थ्यो, एकजनाको जीउ पाल्न कठिन भएपछि दुई वर्ष कटाएर घर फर्केँ।'

'घर फर्केको केही महिनापछि पुन: समूहबाटै एक लाख रूपैयाँ थप कर्जा मागेर कतारतर्फ गएँ,' दहितले दुखेको पोख्दै भने, 'कतारमा पनि जति सोचेको थिएँ त्यस्तो तलब पाइन, खाना खर्च कटाएर महिनामा १० हजारजति बचाउन सकिन्थ्यो, त्यही पैसा घर पठाउँथेँ, वैदेशिक रोजगारीबाट आउने कमाइले घर खर्च र समूहको पैसा तिर्न नपुग्ने भएपछि घर फर्किएँ।' घर फर्केको केही दिनपछि स्थानीय साथीभाइको सल्लाहमा तरकारी खेती गर्न थालेको उनले उल्लेख गरे।

तरकारी खेतीमा श्रीमती, बुबाआमा र आफूले मेहनत गर्न थालेपछि आम्दानी बढेर वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण चुक्ता गरी बैंकमा भविष्यका लागि रकम बचत गर्न सम्भव भएको उनले बताए।

'वैदेशिक रोजगारीमा जाँदा लागेकोजस्तो ऋण छैन, बैंकमा रकम बचत छ, परिवारसँग बसेर सुखदुःख साटासाट गरी सहज जीवनयापन गर्न सकिएकामै आत्मसन्तुष्टि छ,' उनले भने। विदेशमा गर्ने जस्तो परिश्रम स्वदेशमै गरे सोचेकोभन्दा बढी आम्दानी गर्न सकिने भएकाले विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार हुन युवालाई उनी सन्देश दिन्छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८१०४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend