सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

५० प्रतिशत अनुदानमा बेलौरीका किसानलाई कृषि सामग्री

मंगलबार, वैशाख १८ २०८१
५० प्रतिशत अनुदानमा बेलौरीका किसानलाई कृषि सामग्री
फाइल तस्बिर

नगरपालिकाका अनुदान पाउने किसानले २० बिघा बढी जग्गामा वसन्ते मकैखेती गरेका छन्।

कञ्चनपुर- बेलौरी नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ। 

नगरपालिकाको कृषि शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वसन्ते मकैखेती गर्दै आएका किसानलाई वसन्ते मकैको बीउ, कृषि औजार सामग्री, मेसिनलगायत उपलब्ध गराइएको हो।

नगर प्रमुख पोतिलाल चौधरीले वडा नं ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत सामग्री किसानलाई वितरण गरिएको बताए। उनका अनुसार किसानलाई वसन्ते मकैखेती प्रवर्द्धनमा टेवा पुर्‍याउनका लागि पाँच क्विन्टल मकैको उन्नत बीउ, सिँचाइका लागि पाँचवटा विद्युतीय मोटर, खेतबारी जोत्नका लागि आठवटा मिनी टिलर, एक कल्टिभेटर, एक रोटाभेटर, मकैको दाना बनाउने कम्बाइ मेसिन एक र कर्न सेलर एक उपलब्ध गराइएको छ।

यसैगरी, मकैको बीउ भण्डार गर्न सहजताका लागि ड्रम दुई, डेलभिरी पाइप तीन क्विन्टल, स्प्रेट्यांकी चार थान किसानलाई अनुदानमा उपलब्ध गराइएको छ। नगरपालिकाको कृषि शाखाले किसानलाई उपलब्ध गराएको कृषि सामग्री खरिदका लागि रु नौ लाख ७५ हजार रकम खर्च गरेको छ। त्यतिकै रकम अनुदान लिने किसानले व्यहोरेका छन्।

'किसानलाई व्यावसायिक खेतीप्रति प्रोत्साहित गराउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ', नगर प्रमुख चौधरीले भने, 'प्रत्येक वर्ष विभिन्न बाली र तरकारीखेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई हौसला दिने कार्य हुँदै आएको छ।' अनुदान कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन मद्दत पुर्‍याएको उनको भनाइ छ।

नगरपालिकाका अनुदान पाउने किसानले २० बिघा बढी जग्गामा वसन्ते मकैखेती गरेका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend