सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

रामेछापमा बगैँचालाई थप व्यवस्थित गर्न पहिलोपटक जुनारमा ‘ट्याग’

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १७ २०८१
रामेछापमा बगैँचालाई थप व्यवस्थित गर्न पहिलोपटक जुनारमा ‘ट्याग’

अहिले सुरुवाती चरणमा कृषकलाई सहज होस् भनेर आफूले एकमा ट्याग निःशुल्करुपमा जुनार कृषकलाई उपलब्ध गराएको रामेछाप-काठमाडौँ सिर्जनशील समाजका अध्यक्ष तथा स्थानीय विपीन भट्टराईले बताए।

रामेछाप- जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ। रामेछाप नगरपालिका-७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो। 

स्थानीय विपीन भट्टराईले भने, 'जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसालाई यकीन हुने र कति नं बोटको जुनार कस्तो फल्यो, बोट तथा उमेरअनुसार फल दियो कि दिएन भन्ने कुरालाई सहज बनाउनेछ। त्यसैगरी कुन बोटमा कस्तो रोग लागेको छ त्यसलाई के उपचार गर्न सकिन्छ भन्नेजस्ता कुराहरुको जानकारी यो ट्यागले दिने भएको हुँदा  यो आवश्यकता महसुस गरेर जुनार कृषकले आफ्नै लगानीमा जुनारका बोटमा ट्याग लगाउन सहज होस् भनी यो अभियान थालिएको हो।'   

त्यतिमात्र होइन जुनार कृषक घर नभएको अवस्थामा प्राविधिक पुगे भने पनि यति नं को बोटमा यस्तो रोग लागेको छ भनेर टेलिफोनबाट पनि भन्न र उपचार गराउन सकिन्छ।

यसरी ट्याग लगाउँदा जुनारलाई ब्राण्डिङ र बजारीकरणमा पनि सहज हुने भएकाले जानकारको अनुरोधमा आफूले यो कार्यको सुरुवात गरेको ओख्रेनीका जुनार कृषक कार्कीले बताए। 
  
सो नगरपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोनका रुपमा काम गर्दै आइरहेको छ। जुनारको पहिचान बनाउन सफल बन्दै गएको यस जिल्लाका सबै जुनार बगैँचामा यसरी ट्याग लगाउने तयारी भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए।   

अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा ट्याग लगाउने काम सुरु भएको हो। यसपछि कुन बोटमा कस्तो जुनार फलिरहेको छ भन्ने कुरा मोबाइलमा स्क्यान गरेर थाहा पाउने प्रविधि पनि भित्र्याउने तयारी पनि भइरहेको प्रमुख गैरेले बताए।   

अहिले सुरुवाती चरणमा कृषकलाई सहज होस् भनेर आफूले एकमा ट्याग निःशुल्करुपमा जुनार कृषकलाई उपलब्ध गराएको रामेछाप-काठमाडौँ सिर्जनशील समाजका अध्यक्ष तथा स्थानीय विपीन भट्टराईले बताए। 
  
ट्याग लगाउने कामको शुभारम्भ गदै रामेछापका नगर प्रवक्ता समीर कार्कीले रामेछाप नगर क्षेत्रभित्रका सबै जुनारका रुखमा ट्याग लगाउने कार्य आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुनेगरी नगरपालिकाले पनि योजनामा राख्ने प्रतिबद्धता व्यक्त गरे। रासस  


प्रकाशित : सोमबार, वैशाख १७ २०८११५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend