सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १६ २०८१
सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

कैलाली, कञ्चनपुरमा सञ्चालनमा रहेका दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ।

सुदूरपश्चिम- मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ।

कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते मकैखेतीका लागि सरकारले बीउमा अनुदान, सिँचाइ र अन्य प्राविधिक सहयोग गरेको छ। वसन्ते मकैखेती विस्तारलाई विशेष कार्यक्रममा समावेश गरिएको कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए।

मुख्यमन्त्री बृहत् तथा विशेष कार्यक्रममा समेटिएको वसन्ते मकैखेती पहिलो वर्ष कैलालीको गौरीगङ्गा, घोडाघोडी, कैलारी, जानकीनगर, लम्कीचुहा, टीकापुर र कञ्चनपुरको पुनर्वास, बेलडाँडी, बेलौरीलगायत क्षेत्रमा गरिएको छ।

कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको खेती आगामी तीन वर्षभित्रमा थप क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य छ। प्रदेश सरकारले वसन्ते मकैखेतीबाहेक चिप्स बनाउन प्रयोग हुने आलुखेती र मसिनो धानखेतीलाई पनि विशेष कार्यक्रममा समावेश गरेको छ।

'दाना उद्योगलाई चाहिने कच्चा पदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले मकैखेती विस्तार गर्न लागिएको हो', ज्ञान केन्द्रका प्रमुख शर्माले भने, 'यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जानेछ।'

कैलाली, कञ्चनपुरमा सञ्चालनमा रहेका दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको नौ महिनामा भारतबाट गड्डाचौकी नाका हुँदै १७ करोड बराबरको ४५ लाख ८३ हजार किलो मकै भित्रिएको छ।

प्रदेशका सबै जिल्लामा झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा बर्खे मकै र वसन्ते मकैखेती गरिएको भए पनि क्वारेन्टीइन कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले स्थानीय क्षेत्रमा दाना उद्योगका लागि चाहिने मकै पर्याप्त उत्पादन नहुँदा भारतबाट आयात भइरहेको बताए। रासस


प्रकाशित : आइतबार, वैशाख १६ २०८११०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend