सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

चैते धानको परीक्षणमा बाँकेका किसान, सिँचाइ सुविधा पुगेका ठाउँमा थालियो खेती

बुधबार, वैशाख १२ २०८१
चैते धानको परीक्षणमा बाँकेका किसान, सिँचाइ सुविधा पुगेका ठाउँमा थालियो खेती

चैते धानखेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण गरिएको छ। कतिपय किसानले भने आफ्नै लगानीमा यस वर्षदेखि खेती थालेका छन्।

नेपालगञ्ज- बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।

पहिलोपटक चैते धानखेती गरेकी वैजनाथ-६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन्।

उनले वर्षे धानखेतीभन्दा चैते धानखेतीमा बढी मेहनत गर्नुपर्ने र उक्त धानखेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन्। करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानखेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेर समेत समस्या झेल्नुपरेको बताइन्।

कृषि ज्ञानकेन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षबाट चैते धानखेती सुरु गरेको जानकारी दिए। उनले चैते धानखेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते पाँच जातको धानखेती भएको बताए।

उनले भने, 'चैते धानखेतीमा किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकैखेती पनि गरेका छन्।' अधिकृत यादवले अहिले चेते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै वर्षे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए।

कृषि ज्ञानकेन्द्र ३१ हेक्टर, केही किसानले आफ्नै लगानीमा र केही बीउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बीउबाट गरी कुल ४० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गरिएको छ।

यस वर्ष जिल्लाको वैजनाथ-८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा-३ को सूर्य, लालपुर्जा र बनकट्टि, राप्तिसोनारीको फत्तेपुर तथा खजुरा-२ को के गाउँमा चैते धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गाउँपालिकामा निर्माण भएका विभिन्न कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरेको बताइएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १२ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend