सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १० २०८१
दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन

चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ भने दैनिक एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ।

चितवन- सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन्। 

गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैँसी पाल्न कठिन भएको किसानले बताएका हुन्।

भरतपुर महानगरपालिका-१३ चम्फानगरका होमनाथ सुवेदी दूध बेचेको पैसा भुक्तानी नपाएपछि गाईभैँसीलाई के खुवाउने भन्ने समस्या उत्पन्न भएको बताउँछन्।

स्थानीय उज्जवल दुग्ध उत्पादक संस्थाका अध्यक्षसमेत रहेका सुवेदीले आफूमात्र नभइ संस्थामा आबद्ध सबैजसो किसान समस्यामा परेको बताए। 

'विगत छ महिनादेखि यहाँका विभिन्न डेरीले करोडौँ रकम भुक्तानी नगर्दा किसानलाई दाना ९चोक्कर० समेत दिन सकेका छैनौँ। त्यसैले हामी निकै समस्यामा छौँ', सुवेदीले भने। 

उनका अनुसार सो संस्थाले स्थानीय सुजल डेरीसँग ९५ लाख र अन्य संस्थाहरूसँग गरी एक करोड ५० हजारभन्दा बढी रकम भुक्तानी लिन बाँकी छ। ती संस्थाले नियमित दूध लिइरहे पनि पैसा दिन आनाकानी गरिरहेका छन्। 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवन दूधमा आत्मनिर्भर भए पनि दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसान निराश भएका बताए।

अहिले जिल्लामा रहेका दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डिडिसी) र सुजल डेरीलगायत संस्थासँग ८२ करोडभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको र अन्तिम पटक चैत २१ गतेसम्म भुक्तानी दिने गरी भएको सहमतिसमेत कार्यान्वयन नहुँदा गाईभैँसीपालक किसान पेसाबाट पलायन हुने अवस्था आएको उनको भनाइ छ। 

'किसानले बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ। अब चाँडै वक्यौता भुक्तानी नदिने हो भने धेरै किसान पेसाबाट नै पलायन हुने छन्। त्यसैले सहमति कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु', बगालले भने। 

चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ भने दैनिक एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ।

अहिले दूध नउठ्ने समस्या हटे पनि भुक्तानी नपाउने समस्या बढ्दै गएकाले तत्काल समस्या समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने स्थानीय किसानको आग्रह छ। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८११६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend