सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तनहुँमा अदुवा उत्पादन बढ्यो

सोमबार, वैशाख १० २०८१
तनहुँमा अदुवा उत्पादन बढ्यो

बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन्। चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो।

दमौली- तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ। अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन्।

चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए। चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो।

गत आव २०७९/८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो। त्यतिबेला पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो। व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा व्यावसायिक रूपमा अदुवाखेती हुँदै आएको छ।

पछिल्लो केही वर्षयता बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीमा आकर्षित भएको पाइएको छ। बाँदरले अदुवामा क्षति नपुर्‍याउने भएकाले किसान यसतर्फ बढी आकर्षित छन्। ज्ञान केन्द्रले मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रममार्फत अदुवा उत्पादक किसानलाई सहयोग गर्ने कार्यक्रम रहेको परियारले जानकारी दिए।

स्थानीय तहले अदुवा उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेपछि पनि किसान अदुवाखेतीमा लागेका छन्। घिरिङ गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गरिरहेको छ। निर्वाहमुखी खेती गरिरहेकालाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति ल्याएको छ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक बनाउन खोजिएको बताए। गाउँपालिकाले प्रतिव्यक्ति पाँच हजार रूपैयाँका दरले अनुदान दिँदै आएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८११४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend