शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुर्खेत-बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ३ २०७८
सुर्खेत-बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

वीरेन्द्रनगरस्थित बुदबुदे सबस्टेशनबाट बाङ्गेसिमलसम्म निजी जग्गा पर्ने हुँदा स्थानीय सहमति आवश्यक रहेको जनाएको छ।

कर्णाली- लामो समयदेखि थाती रहेको सुर्खेत-बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ। सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो।

सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत-बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो।

प्रसारणलाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ।

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरस्थित बुदबुदे सबस्टेशनबाट बाङ्गेसिमलसम्म निजी जग्गा पर्ने हुँदा स्थानीय सहमति आवश्यक रहेको जनाएको छ।

यसअघि उक्त खण्डमा स्थानीयले अवरोध पुर्‍याउँदा सिद्धपाइला-गोठीकाँडा-फिनिकाँडा हुँदै बराहतालको बड्डीचौरसम्म लाइन विस्तार गर्नुपरेको थियो।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले वन क्षेत्रको समस्या सुल्झिएपछि पश्चिम सुर्खेतमा विद्युत् पुर्‍याउन सहज भएको बताए। प्रसारण लाइन विस्तारको टुङ्गो नलाग्दा पश्चिम सुर्खेतमा विद्युत्को पहुँच पुग्न सकेको थिएन। रासस


प्रकाशित : शनिबार, पुस ३ २०७८०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend