सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एक दशकअघि सुरु भएको सिँचाइ आयोजनामा बल्ल गति, ५० हेक्टरभन्दा बढी जमिनमा सुविधा पुग्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ९ २०८१
एक दशकअघि सुरु भएको सिँचाइ आयोजनामा बल्ल गति, ५० हेक्टरभन्दा बढी जमिनमा सुविधा पुग्ने

उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन्।

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ।

सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो।

'तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र  थियो। 'यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ', स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने। 

सात वर्षअघि १३ लाख खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो। उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान  भइरहेको जानकारी दिए।

खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ। 

उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन्।

योजनाको शनिबार अनुगमन गरेका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेको बताए। रासस 


प्रकाशित : आइतबार, वैशाख ९ २०८१०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend