सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आठ लाख रूपैयाँबराबरका कृषि सामग्री हस्तान्तरण

शनिबार, वैशाख ८ २०८१
आठ लाख रूपैयाँबराबरका कृषि सामग्री हस्तान्तरण

कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकममा कृषि सामग्री हस्तान्तरण गरिएको हो।

भोजपुर- परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न भोजपुर नगरपालिका-५ बोखिमका किसानलाई करिब आठ लाख रूपैयाँ बराबरका कृषि सामग्री हस्तान्तरण गरिएको छ।

कृषि ज्ञान केन्द्र भोजपुरको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागतमा बोखिमको प्रगतिशील महिला कृषक समूहलाई आज कृषि सामग्री हस्तान्तरण गरिएको हो।

कार्यालयबाट अनुदानमा खरिद गरी वितरण गर्न लागिएका सामग्री किसानलाई हस्तान्तरण गर्दै कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले कृषि क्षेत्रमा बोखिम उत्पादनशील क्षेत्र भएकाले यहाँका किसानलाई थप प्रोत्साहन गर्न सामग्री वितरण गरिएको जानकारी दिए।

प्रमुख यादवले भने, 'कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुनेछ। म यी सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दछु।' प्रमुख यादवले मकै उत्पादकत्व प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि सामग्री अनुदानमा वितरण गरिएको बताए।

कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान पाँच लाख ९९ हजार तीन सय २५ रूपैयाँ र किसानको २५ प्रतिशत एक लाख ९९ हजार सात सय ७५ रूपैयाँ गरी कुल सात लाख ९९ हजार एक सय रूपैयाँको कृषि सामग्री खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरिएको केन्द्रका छैटौँ अधिकृत टेकबहादुर कार्कीले बताए।

किसानलाई मिनीटिलर पाँच थान, छ सय केजी मकैको बीउ, कम्वाइन मिल, पावर स्प्रेयर १३ थान, मकै रोप्ने मेसिन चार थान, क्रेनथ्रेसर चार थानलगायतका सामग्री वितरण गरिएको अधिकृत कार्कीले बताए।

आधुनिक कृषि व्यवसायले आम्दानी वृद्धि गरी किसानलाई आर्थिकरूपले सक्षम बनाउने भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फबिन्द्र प्रधानले बताए। ज्ञान केन्द्रले आगामी दिनमा किसानलाई व्यावसायिक बनाउने खालका कार्यक्रममा निरन्तरता दिनुपर्ने पनि वडाध्यक्ष प्रधानको भनाइ छ।

परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै नयाँ ढंगले खेती गर्न बोमिखका किसानले पाएका सामग्री उपयोगी हुने किसान ताराबहादुर केसीले बताए। सामग्री हस्तान्तरण कार्यक्रममा कृषक समूह, किसान, ज्ञान केन्द्रका कर्मचारीलगायतको उपस्थिति थियो। रासस


प्रकाशित : शनिबार, वैशाख ८ २०८११८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend