सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका

बिहीबार , वैशाख ६ २०८१
कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका
फाइल तस्बिर

यस कार्यक्रममा सम्बन्धित विद्यालयले कुल रकमको २५ प्रतिशत बेहोर्नुपर्ने गाउँपालिकाको प्रावधान छ।

पर्वत- कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन्। 

जिल्लाको मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन्। विद्यालयमा पढाइ हुनेभन्दा अतिरिक्त समयमा करेसाबारीमा तरकारी, फलफूललगायत मौसमअनुसारका अन्न उत्पादनतर्फ आकर्षित गराउन मोदी गाउँपालिकाले ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम सञ्चालन गरेको छ भने पैयुँ गाउँपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरेको छ। 

चालु आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममा दुवै गाउँपालिकाले दुईवटा विद्यालय छनोट गरेर विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका हुन्। मोदी गाउँपालिकाले उक्त कार्यक्रमका लाग चालु आवमा दुई लाख रूपैयाँ विनियोजन गरेको छ।

उक्त कार्यक्रममा छनोट भएका विद्यालयले २० प्रतिशत लागत साझेदारी गर्नुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिइन्। यो कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा बाली लगाउन सिक्ने र बाबुआमालाई कृषि कर्ममा सघाउने विश्वास व्यक्त गरे। उनीहरूले लगाएको तरकारी, फलफूलबाट हुने आम्दानी विद्यार्थीलाई नै दिइने भएकाले पढाइ खर्चमा टेवा पुग्ने उनले बताए।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रमअन्तर्गत गाउँपालिका-७ भोर्लेमा रहेको जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको एक लाख ५० हजार रूपैयाँ लगानीमा यो कार्यक्रम थालिएको हो। यस कार्यक्रममा सम्बन्धित विद्यालयले कुल रकमको २५ प्रतिशत बेहोर्नुपर्ने गाउँपालिकाको प्रावधान छ। 

विद्यार्थीले बिहान, दिउँसो, साँझ पढाइको अतिरिक्त समयलाई व्यवस्थापन गरेर करेसाबारीमा काम गराइने गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले जानकारी दिइन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend