शनिबार, साउन १२ गते २०८१    
images
images
images

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

images
मंगलबार, वैशाख ४ २०८१
images
images
जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै
फाइल तस्बिर

ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख संकलन गरी कारबाही गर्न सहज भएको जनाएको छ।

images

काठमाडौं- ट्राफिक नियम उल्लंघनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ। ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख संकलन गरी कारबाही गर्न सहज भएको जनाएको छ।

images
images

ट्राफिक नियम उल्लंघन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।

images

'उक्त प्रणालीमार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लंघन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राख्दछ। कति जरिवाना तिर्नुपर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्छ। पटके कसुरको विवरण पनि यस प्रणालीले आफै हिसाब राख्नछ', उनले भने।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले भने, 'नेपाल प्रहरी कार्ययोजना, २०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन उक्त प्रणाली महत्वपूर्ण बनेको छ।'

images

उनका अनुसार हालसम्म ४५ जिल्लामा यो प्रणाली कार्यान्वयनमा आएको छ। प्रणालीले ट्राफिक जरिवाना असुल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा प्रहरीले गरेको छ।

धेरै अघिदेखि सुरु गरिएको टिभिआरएस प्रणाली समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/७७ देखि हालको अवस्थामा काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालनमा आएको हो।

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ३१ लाख ४७ हजार नौ सय ५३ वटा ट्राफिक नियम उल्लंघनका घटना यस प्रणालीमा दर्ता भएका छन्। जसबाट कुल दुई अर्ब ३३ करोड दुई लाख २८ हजार नौ सय ६४ रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। प्रणाली सञ्चालनसँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शी रूपमा सहजै तिर्न पाएका छन्।

टीभीआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ। निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार भण्डारीले सेवाग्राहीको सहजताका लागि यो प्रणालीको विकास गरिएको भन्दै यसको सफ्टवयरले ट्राफिक नियम उल्लंघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसुरको प्रकार ट्र्याक राख्ने जानकारी दिए।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लंघन गर्ने व्यक्तिलाई जरिवाना तथा कारबाही गर्छ। कारबाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्री गरिन्छ। कारबाहीमा परेका व्यक्तिले अनलाइनमार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखामा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्नेछन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले यस प्रणालीले ट्राफिक कारबाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको बताए। उनका अनुसार सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सकिने बनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend