शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुन्दर यातायातले थप्यो २९ वटा विद्युतीय बस, पुस दोस्रो साताबाट काठमाडौंका ४ रुटमा चल्ने

शुक्रबार, पुस २ २०७८
सुन्दर यातायातले थप्यो २९ वटा विद्युतीय बस, पुस दोस्रो साताबाट काठमाडौंका ४ रुटमा चल्ने

अहिले कोरोना महामारी कम हुँदै गएसँगै यातायातले उपत्यकाका विभिन्न ४ रुटमा सञ्चालन गर्ने गरि थप २९ वटा बस ल्याइसकेको छ। 

काठमाडौं- उपत्यकामा निजी क्षेत्रबाट पहिलोपटक सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले बस थपेर सेवा विस्तारको तयारी गरेको छ।

सुन्दरले हाल रिङरोडमा विद्युतीय बस सञ्चालन गर्दै आएकोमा अब भने थपिएको २९ बसमार्फत विभिन्न भित्रि चार रुटमा समेत बस चलाउने भएको छ।

यसअघि काठमाडौंमा दुई वटा विद्युतीय बस सेवा दिएको सुन्दर यातायात २०७६ भदौ ३२ गतेबाट सञ्चालनमा आएको थियो। तत्कालीन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल पुलिस क्लबमा सुन्दर यातायातको सेवा सुभारम्भ गरेका थिए। 

सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन हुनेगरि रुट पर्मिट लिएको थियो। पहिलो चरणमा एयरपोर्टलाई गन्तव्य बनाएर दुई वटा विद्युतीय बस चलाएको थियो। 

सुन्दर यातायातले दुईवटा बस सेवा सुरु गर्दा नै सेवा विस्तारलाई तिब्रता दिने उल्लेख गरेको थियो। तर सेवा सुरु गरेको ६ महिना नबित्दै कारोना महामारी सुरु भएपछि सबै प्रक्रिया रोकिएको थियो। अहिले कोरोना महामारी कम हुँदै गएसँगै सुन्दर यातायातले उपत्यकाका विभिन्न ४ रुटमा सञ्चालन गर्ने गरि थप २९ वटा बस ल्याइसकेको छ। 

यातायात विभाग र कार्यालयबाट बसको प्राविधिक परीक्षण र रुटपर्मिट लिने काम सकिएको छ। हाल ती चार रुटमा परीक्षणका रुपमा बस चलाइरहेको सुन्दर यातायातले जनाएको छ। सबै प्रकारका परीक्षण सफल भइसकेकाले यातायातले पुस १३ गते कार्यक्रम गरि औपचारिक रुपमा २९ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ।  

sundar 1.jpg

२०७६ मा बस सञ्चालन गर्दा सुन्दर यातायातले विद्युतीय बसको भाडा अन्य सवारीसाधनको भन्दा २० प्रतिशत कम गरेको थियो। सरकारले सार्वजनिक यातायातलाई तोकेको भाडामा भन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको थियो।

काठमाडौंमा हुने वायु र ध्वनी प्रदूषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा सञ्चालनमा ल्याइएको थियो। नयाँ २९ वटा विद्युतीयमा पनि डिजेलबाट चल्ने बसको तुलनामा भाडादर कम हुने अनुमान गरिएको छ।  

सुन्दर यातायातले विद्युतीय बस सञ्चालनका साथै विद्युतीय कार तथा स्कुटरसमेत आयात गरेर बिक्री सुरु गरेको छ। त्यसै गरि सुन्दरले नेपालमै विद्युतीय बस एसेम्बल गर्ने तयारी समेत गरिरहेको छ। 

सुन्दर यातायातले उपत्यकाका साथै देशका विभिन्न सहरमा विद्युतीय बस सञ्चालन गर्ने योजना समेत अघि सारेको थियो। 

साझा यातायाले पनि काठमाडौं उपत्पकामा सञ्चालन गर्ने गरि ४० वटा विद्युतीय बस खरिदका लागि टेन्डर नै स्वीकृत गरिसकेको छ। बस आपूर्ति गर्ने ठेक्का पाएको कम्पनीले साझालाई ३ वटा विद्युतीय बस परीक्षणका लागि उपलब्ध गराउने अन्तिम तयारीमा रहेको छ। 

परीक्षण सकिएको केही महिनाभित्रै साझा यातायातले ४० वटा विद्युतीय बस पाउने छ। उक्त बस काठमाडौं उपत्यकाका विभिन्न रुपमा चल्ने छन्। कसरी र कुन कुन रुटमा नयाँ विद्युतीय बस चलाउन सकिन्छ भनेर साझा यातायातले अध्ययन गरिरहेको जनाएको छ।  


प्रकाशित : शुक्रबार, पुस २ २०७८०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend