सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पशुपालनबाट राम्रो आम्दानी लिँदैछन् उमेशराज, वार्षिक ८ लाखसम्म बचत

सोमबार, वैशाख ३ २०८१
पशुपालनबाट राम्रो आम्दानी लिँदैछन् उमेशराज, वार्षिक ८ लाखसम्म बचत

कैलालीका उमेशराज उपाध्यायले दूध बेचेरमात्रै मासिक ९० हजार आम्दानी लिने गरेका छन्। दूध बेचेकै आम्दानीले परिवार उनको धानिएको छ।

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्य आम्दानी लिन थालेका छन्। अधिकांश समय गाईभैँसी स्याहार्न, दुहुन र दूध बेच्नमै बित्ने उनी बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म पशुपालनमै व्यस्त रहन्छन्।

विसं २०७६ मा ओमशान्ति बहुउदेश्यीय पशुपक्षीपालन तथा अर्गानिक तरकारीखेती फर्म दर्ता गरेर व्यावसायिक पशुपालनमा लागेका उपाध्यायले हाल चार वटा जर्सी तथा होलिस्टिन जातका गाई र एउटा भैँसी पालेका छन्।

उनले दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताए। उनले भने, 'दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्छु, दूध प्रतिलिटर ९० रूपैयाँमा बिक्री हुन्छ।'

चार जनाको परिवारको खर्च दूध बिक्री गरेकै आम्दानीले धानेको उनले बताए। दुई छोराको पढाइ खर्च, घर खर्च, गाईभैँसीको दाना, घाँसको खर्च कटाएर वार्षिक आठ लाख बचत गरेको उनको भनाइ छ।

नौ लाख रूपैयाँ ऋण लिएर पाँच वटा भैँसीबाट व्यवसाय सुरु गरेका उपाध्यायले भैँसीभन्दा गाईपालन सहज हुने भएपछि पछिल्लो समय गाईपालनलाई प्राथमिकता दिएका छन्।

'पहिले एक बिघा जग्गा भाडामा लिएर त्यहीँ गोठ बनाएर व्यवसाय सुरु गरेको थिएँ', उनले भने, 'अहिले आफ्नै जग्गामा गोठ बनाएको छु। घाँसका लागि वार्षिक एक लाखमा एक बिघा जग्गा भाडामा लिएको छु।'

कोरोनाले आफूलाई कृषक बनाएको उपाध्याय बताउँछन्। 'मैले पहिले धनगढीमै फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवासहितको पसल राखेको थिएँ। कोरोनापछि पसलको भाडा तिर्न नसकिने अवस्था आयो र घरखर्च चलाउन सकिएन', उनले भने, 'त्यसपछि मैले कृषिमा लाग्नुपर्छ भन्ने सोच बनाएर पशुपालनमा लागेँ, अहिले आम्दानी पनि राम्रै छ।'

उनले गाईपालनसँगै स्थानीय जातका कुखुरापालन र तरकारीखेती पनि गरेका छन्। ३५ वटा स्थानीय जातका कुखुरा पालेका छन्। सरकारले घाँसको बीउ समयमै उपलब्ध गराइदिए  र औषधिको व्यवस्था गरिदिए गाईपालन अझै सहज हुने उनको भनाइ छ।

पछिल्लो समय गाईभैँसीपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा दूध उत्पादन बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका सूचना अधिकारी कविराज कठायतले बताए।

उनले जिल्लामा वार्षिक ८३ हजार छ सय ४३ लिटर दूध उत्पादन हुने गरेको बताए। केन्द्रले गाईभैँसीपालन गर्ने किसानलाई गोठ निर्माणलगायतमा ५० प्रतिशत अनुदान दिने गरेको उनले बताए। रासस


प्रकाशित : सोमबार, वैशाख ३ २०८११६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend