सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्छन् कावासोतीका सुदीप

सोमबार, वैशाख ३ २०८१
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्छन् कावासोतीका सुदीप

सुदीप दवाडीले तराई भूभागमै स्ट्रबेरीखेती गरेर आम्दानी लिइरहेका छन्। उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन्।

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन्।

जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। पहिलो वर्ष दुई लाख लगानीमा सुरु गरेको स्ट्रबेरीखेतीले राम्रो आम्दानी दिन थालेको उनले बताए।

'यो सिजनमा छ क्विन्टल बढी स्ट्रबेरी स्थानीय बजारमा बिक्री गरिसकेको छु', उनले भने, 'प्रतिकिलो ६ सय रूपैयाँका दरले बारीबाट बिक्री भएको छ, अझै बिक्रीका लागि तयार हुँदैछन्।'

तराईमा स्ट्रबेरीखेती हुन्छ र यसबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन। दवाडीले तराई भूभागमै स्ट्रबेरीखेती गरेर आम्दानी लिइरहेका छन्। उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन्।

'प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्‍याउन थोपा सिँचाइको व्यवस्था गरिएको छ', उनले भने, 'स्थानीय बजारसँगै बाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ, बारीमै आइ टिपेर लैजाने ग्राहक प्रशस्त आउने गरेका छन्।'

दवाडीले दुई कठ्ठा क्षेत्रफलमा स्ट्रबेरी लगाएका छन्। हालसम्म तीन लाख बढी आम्दानी गरिसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आम्दानी बढ्ने दवाडीको अनुमान छ।

'इन्टरनेटका माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट पहिलो वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याइ रोपेका हौँ', उनले भने, 'यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ।'

एउटै बोटमा एक किलोसम्म स्ट्रबेरी फल्ने गरेको छ। आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगार दिएको दवाडी बताउँछन्। स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ। उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेक बनाइ बजारमा बेच्न मिल्ने भएकाले जोखिम कम रहेको उनले बताए।

उनले भाडामै दुई बिघा जग्गा लिएर स्ट्रबेरी, खरबुजा, ड्रागन फल, कागती, बयर, सितलचिनी खेती गरेका छन्। ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

'फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्न लायक हुन्छ', उनले भने, 'हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि दिनमा २२ देखि २५ डिग्री सेल्सियस र रातमा ७ देखि १३ डिग्री सेल्सियस तापक्रम सबैभन्दा राम्रो मानिन्छ।' रासस


प्रकाशित : सोमबार, वैशाख ३ २०८११५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend