शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

युएईबाट फर्किएर पशुपालन र तरकारी खेती, मासिक २ लाख ४० हजार आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १ २०७८
युएईबाट फर्किएर पशुपालन र तरकारी खेती, मासिक २ लाख ४० हजार आम्दानी

गलकोट- कोरोना सङ्क्रमणपछि बागलुङको जैमिनी नगरपालिका-१ कुस्मिशेराका गोबिन हमाल युनाइटेड अरब इमिरेटस् (युएई)बाट घर फर्किए। उनी डेढ दशकदेखि युएईमा मजदुरी गरिरहेका थिए। विदेशबाट फर्केपछि हमाल अहिले पशुपालन गर्छन्।  

'विदेशबाट फर्केपछि भैँसी फार्म खोल्ने निधोमा पुगे', हमालले भने। उनलाई नयाँ व्यवसाय गर्ने सोच पलायो। भैँसी फार्म खोलेपछि विदेश बिर्सदै गएको हमालको भनाइ छ । हमालको गोठमा हाल ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरा छन्। हमालले कृषि तथा पशु फार्म दर्ता गरेर भैँसी बाख्रा पालेका छन्। उनले तरकारीखेती समेत गर्दै आएका छन्। 

'विदेशमा १५ वर्ष बिताए, कोरोना नभएको भए अझै उतै हुन्थेँ', हमालले भने, 'अहिले दैनिक ९० लिटर दूध उत्पादन भइरहेको छ, बजारमा आफै लगेर बिक्री गर्छु, विदेशमा भन्दा परिवारसँगै बसेर काम गर्दा निकै आनन्द लाग्यो, अब यही काम गर्छु ।' उनले १ लाख ७० हजारदेखि १ लाख रुपैयाँसम्मका भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका हुन्। 

उनको व्यवसायमा श्रीमती खगी, छोरी विपना र छोरा पवनले सहयोग गर्दै आएका छन्। वार्षिक २० हजार रुपैयाँ भाडामा तीन रोपनी जग्गा लिएर हमालले फार्म स्थापना गरेका हुन्। 

'मलाई दूध पुर्‍याउनै धौधौ परिरहेको छ' उनले भने, 'फर्ममा अब भैँसीको सङ्ख्या बढाउँछु, बिक्री नभएको दूधको घ्यु र दही बनाएर बिक्री गर्ने योजना छ।' हमालले जैमिनी नगरपालिकाबाट घाँस टुक्रयाउने र पानी तताउने औजार अनुदानमा पाएका छन्।

उनले उत्पादन गरेका खसी बोकासमेत स्थानीय कुश्मिशेरा बजारमा खपत हुने गरेका छन्। हमालले फार्ममा हालसम्म ५० लाख रुपैयाँ लगानी गरेका छन्। उनले मासिक २ लाख ४० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , पुस १ २०७८१३:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend