शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

विद्युतीय सवारीमा लिथियम आयन ब्याट्री

शनिबार, वैशाख १ २०८१
विद्युतीय सवारीमा लिथियम आयन ब्याट्री

लिथियम आयन ब्याट्रीको विकासपछि नै परम्परागत जीवाश्म इन्धन सवारीको स्वच्छ र दीर्घकालीन विकल्पका रुपमा विद्युतीय सवारी आएको हो।

लिथियम आयन ब्याट्रीको विकाससँगै विशेषगरी विद्युतीय सवारी उद्योगमा व्यापक परिवर्तन आयो। लिथियम आयन ब्याट्रीको खासियत भने ऊर्जा धेरै सञ्चय गर्न सक्नु हो। इनर्जी डेन्सिटीका साथै लिथियमको लाइफ धेरै हुनु र तुलनात्मक रुपमा कम तौल हुने भएकाले यसको प्रयोगमा व्यापकता आएको हो। 

यी नै विशेषताका कारण लिथियम आयन ब्याट्री विद्युतीय सवारीका लागि वरदान साबित भएको छ। लिथियम आयन ब्याट्रीको विकासपछि नै परम्परागत जीवाश्म इन्धन सवारीको बलियो तथा स्वच्छ र दीर्घकालीन विकल्पका रुपमा विद्युतीय सवारी आएको हो।

लिथियम आयन ब्याट्रीको विकासले विद्युतीय सवारीमा क्रान्ति नै ल्यायो। विश्वभर विद्युतीय सवारीको प्रयोग र उत्पादन व्यापक रुपमा बढ्दै गयो र आगामी दिनमा अझै बढ्दै छ। यद्यपी विद्युतीय सवारीमा लिथियम आयन ब्याट्रीको व्यवहार र राम्रो रेन्जसहित सुक्षित रुपमा सवारी चलाउनका लागि लिथियम आयनको बारेमा धेरै कुरा जान्नु जरुरी हुन्छ। 

लिथियम आयन ब्याट्रीको व्यवहार

चार्जिङ र डिसचार्जिङ- विद्युतीय सवारीमा भएको लिथियम आयन ब्याट्री एनोड र क्याथोडमा चार्जिङ र डिस्चार्जिङ प्रक्रियाबाट सञ्चालिन हुन्छ। हामी ईभीलाई धेरैभन्दा धेरै चार्जिङ गर्छौँ तर सोहीअनुसार डीप डिस्चार्ज गरिरहेका हुँदैनौँ। तर ब्याट्रीले त्यो पनि खोजिरहेको हुन्छ। सोहीकारण लिथियम आयन ब्याट्रीको यो विशेषतालाई मिलाउन स्मार्ट चार्जिङ प्रविधि अपनाइएको हुन्छ वा अपनाउनुपर्छ। जसका कारण ब्याट्रीको लाइफ बढाउन सकिन्छ।  

तापक्रम संयमता- धेरै तातो वा धेरै चिसो तापक्रमले ब्याट्रीको दक्षतालाई प्रभावित पार्छ। ब्याट्रीलाई सँधै औसत तापक्रममा राख्नुपर्छ। अथवा आधुनिक ईभीमा जस्तै थर्मल म्यानेजमेन्ट सिस्टम भएको हुनुपर्छ वा छानासहितको पार्किङमा ईभीलाई पार्क गरेर राख्नुपर्छ। 

रिजेनेरेटिभ ब्रेकिङ- अहिले उत्पादन भइरहेको सबैजसो ईभीमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको हुन्छ। यो ब्रेकिङ प्रणालीमा गाडी गुडिरहेको बखतमा ब्रेक लगाउँदा काइनेटिक इनर्जी ऊर्जाको रुपमा ब्याट्रीमा स्टोर भएर बस्छ। यो सिस्टमले गाडीको समग्र इफिसियन्सी र रेन्ज बढाउन मद्दत गर्छ।

मितव्ययी ड्राइभिङका उपाय

स्मुद एक्सिलेरेसन एन्ड डिक्लेरेसन- जेन्टल एक्सिलेरेसन तथा ब्रेकिङले ऊर्जा खपत कम गराउँछ र ब्याट्रीको रेन्ज पनि बढाउँछ। सवारीको चाप र आपत्कालीन रोक तथा तीव्र एक्सिलेरेसनले भने क्रमिक रुपमा ब्याट्रीको दक्षतामा प्रभाव पार्छ।

गति सीमित गर्ने- विशेषगरी हाइवेमा विद्युतीय सवारी चलाउँदा मध्यम गतिमा चलाउनुपर्छ। यसले एसोडाइनामिक प्रवाह र ऊर्जा खपतमा कमी आउन सक्छ। अनुशासित रुपमा विद्युतीय सवारी चलाउँदा यसको प्रभाव सबैमा पर्छ। परिणामतः मितव्ययी रुपमा चलाउने कुरा प्रवर्द्धन हुन्छ। 

इको मोडको प्रयोग- सबैजसो विद्युतीय सवारीमा विभिन्न ड्राइभिङ मोडहरु हुन्छन्। त्यसमध्ये धेरै गाडीमा इको-ड्राइभिङ मोडल हुन्छ नै। यो मोडमा कम पावर खपतमा धेरै उपादेयता पाइने विशेषता हुन्छ। सोही कारण सहरी क्षेत्र र हाइवेमा इको मोडमा चलाउँदा ब्याट्रीको पर्फमेन्स राम्रो हुन्छ। 

नेपालको पहाडी भूगोल र ईभी ड्रइभिङ

नेपालको भौगोलिक बनावट केही फरक छ। यहाँका बाटोहरु ओरालो र उकालो धेरै छन्। त्यसैले यहाँको ड्राइभिङ प्याटर्न केही फरक खालको छ। 

ओरालोमा रिजेनेरेटिभ ब्रेकिङ- ओरालोतर्फ यात्रा गर्दा विद्युतीय सवारीमा भएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमबाट ऊर्जा बचाउन मात्र होइन चार्ज गेनसमेत गर्न सकिन्छ। यसले रेन्ज बढाउने काम गर्छ।

हिँड्ने रुटको योजना- विद्युतीय सवारी लिए अलि लामो यात्रा गर्दा योजना बनाएर गर्नुपर्छ। बाटोको अवस्था, छोटो र वैकल्पिक मार्गलगायतबारे बुझेर यात्रा गर्दा ब्याट्रीको इफिसियन्सी बढाउन सकिन्छ।

ब्याट्री म्यानेजमेन्ट- ब्याट्रीको लेवल नजिकबाट नियाल्नुपर्छ। विशेषगरी उकालोबाट जाँदा र चार्जिङ स्टेसन भएको ठाउँमा चार्ज गर्नुपर्छ। यसो गरियो भने सवारीको पर्फमेन्स बढाउन सजिलो हुन्छ र तनाव हुँदैन। 

ड्राइभिङ टेक्निक- विद्युतीय गाडी आईसी इन्जिन गाडीको भन्दा केही फरक र अनुशासित तवरले चलाइयो भने रेन्ज धेरै पाउनुका साथै सवारीको स्वास्थ्य पनि राम्रो बनाइराख्न सकिन्छ। रोक्ने र स्टार्ट गर्ने, रिजेनेरेटिभ लेवल मिलाएर प्रयोगमा ल्याउनुपर्छ।

विद्युतीय सवारीमा भएको लिथियम आयन ब्याट्रीको व्यवहार थाहा पाइयो र मितव्ययी तवरले विद्युतीय गाडी चलाइयो भने यसबाट विद्युतीय सवारीको लाभ पाउन सकिन्छ। विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा अर्थतन्त्र र राज्यले लिएको वातावरणीय लक्ष्य भेट्नसमेत सहज हुनेछ। 

(मेकानिकल इन्जिनियर पौडेल टोइङ नेपालका संस्थापक हुन्)


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend