आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चार दिनमा चारहजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य, आज पनि उकालोतिरै लाग्दा हालसम्मकै उच्च

बुधबार, चैत २८ २०८०
चार दिनमा चारहजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य, आज पनि उकालोतिरै लाग्दा हालसम्मकै उच्च

यो साता तीनै दिन कीर्तिमानी मूल्यमा पुगेको सुन बुधबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढ्दा हालसम्मकै उच्च कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता पनि लगातार सुनको मूल्यमा वृद्धि भइरहेको छ। लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य यो साता चार दिनमा चार हजार एकसय रूपैयाँले बढेको छ।

आइतबार, सोमबार र मंगलबार तीनै दिन कीर्तिमानी मूल्यमा पुगेको सुन बुधबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढ्दा हालसम्मकै उच्च कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार एकसय ५० रूपैयाँ निर्धारण गरिएको छ। 

आइतबार एकैदिन प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले बढेको थियो। मंगलबार नेपाली बजारमा प्रतितोला एकसय रूपैयाँले बढ्दा सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

लगातार बढेर मंगलबार स्थिर रहेको चाँदीको मूल्य पनि आज प्रतितोला १५ रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ। चाँदी आज प्रतिततोला एक हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यो साता आइतबार प्रतितोला ५५ रूपैयाँले बढेको चाँदी सोमबार प्रतितोला १५ रूपैयाँले महँगिएको थियो।

किन बढिरहेको छ सुनको मूल्य?

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा रहेको छ। यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। 

अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ। साथै अमेरिकी फेड रेटमा भएको कटौती, बढ्दो भू-राजनीतिक जोखिम, चीनले व्यापक रुपमा गरिरहेको सुन खरिद, अर्थतन्त्रको अन्य क्षेत्रमा देखिएको अनिश्चितता जस्ता कराणले विश्व बजारमा सुनको मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रुपमा हेरेर गरिएको खरिद, युक्रेन र मध्यपूर्वलगायतका केही क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण पनि सुनको मूल्यमा प्रभाव परिरहेको छ। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ।

२०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ राष्ट्र बैंकले। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : बुधबार, चैत २८ २०८०११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend