सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सिँचाइ अभावले चैते धानखेती संकटमा

सोमबार, चैत २६ २०८०
सिँचाइ अभावले चैते धानखेती संकटमा

तथ्यांकअनुसार जिल्लामा ५० हेक्टर क्षेत्रमा मात्र चैते धानखेती हुने गरेको छ।

सर्लाही- पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती संकटमा परेको छ। सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन संकटमा परेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प्रसाद साहका अनुसार हाल जिल्लाको हरिपुर्वा, ईश्वरपुर, लालबन्दी, गोडैता, कविलासी नगरपालिका चक्रघट्ट गाउँपालिकालगायत क्षेत्रमा मात्र किसानले चैते धानखेती गर्दै आएका छन्।

तथ्यांकअनुसार जिल्लामा ५० हेक्टर क्षेत्रमा मात्र चैते धानखेती हुने गरेको छ। 

हरिपुर्वा नगरपालिका-२ का विजय झाले सिँचाइको अभावमा यस वर्ष सात कट्ठा खेतमा मात्र चैते धान रोपेको बताए। समयमा मलखाद नपाइनेलगायत समस्या सधैँ टाउको दुखाइको विषय बन्ने गरेको उनको भनाइ छ।

सात कट्ठामा लगाएको चैते धानमा समेत पम्पसेटबाट पानी दिइने उनले बताए। सिँचाइको उपयुक्त प्रबन्ध नभएका कारण यहाँका किसानले महँगोमा पम्पसेटबाट सिँचाइ गरेर खेती गर्दै आएका छन्।

हरिपुर्वा-५ का दिनेश यादवले धान भित्र्याउने बेलामा बर्सातले दुःख दिने गरेको सुनाए। 'धान खेतका लागि मजदुर धेरै चाहिन्छन्', उनले भने, 'भन्नेबित्तिकै कामदार पाइँदैन। हावा पानीले दुःख उस्तै दिन्छ। मेसिनले धान काट्ने, धार्ने सुविधा भए किसानलाई सहयोग हुने थियो।' जोखिमले गर्दा किसानले चैते धान लगाउन छाडेको उनको भनाइ छ। 

जिल्लामा चैते धानका रुपमा हर्दिनाथ-१ र चैते-५ लगाउने चलन छ। गत माघ १५ गतेदेखि अन्तिमसम्म बीउ राखिने चैते धान फागुन १५ गतेदेखि रोप्न सुरु गरिने बाली विकास अधिकृत साहले बताए। चैते धान चार महिनाभित्रै पाक्ने र उत्पादन समेत बढी हुने भएकाले प्रतिफल छोटो समयमा धेरै लिन सकिन्छ। किसानले चैते धान जेठदेखि भित्र्याउन थाल्छन्।

यहाँ चैते धानका लागि मुख्य चुनौती सिँचाइ रहे पनि भित्र्याउने समयमा हुने वर्षा, असार मसान्तमा धानको मूल्य कम हुने समस्या तथा प्रचारप्रसारको समेत कमी हुँदा चैते धानखेती बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

खेती बढाउन सके चैते धानबाट किसानले प्रशस्त लाभ लिन सक्ने बाली विकास अधिकृत साहको भनाइ छ। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend