सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मकै गोड्ने, छोडाउने मेसिनसहित किसानलाई ८ लाखबराबरको कृषियन्त्र वितरण

सोमबार, चैत २६ २०८०
मकै गोड्ने, छोडाउने मेसिनसहित किसानलाई ८ लाखबराबरको कृषियन्त्र वितरण

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ।

टीकापुर- कैलालीको जानकी गाउँपालिका-२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो।  

किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत आठ लाख रूपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए।

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ। मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ। किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर  कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए।

'किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,' उनले भने, 'सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ।'

कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दै आएका छन्। मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए।

'समूहमार्फत खेती गर्दा सहज भएको छ। समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,' उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन्।' रासस


प्रकाशित : सोमबार, चैत २६ २०८००९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend