सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण, बेसिजनमा बेच्दा मूल्य तर प्याज जोगाउन गाह्रो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २५ २०८०
डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण, बेसिजनमा बेच्दा मूल्य तर प्याज जोगाउन गाह्रो

'सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ।'

डोटी- डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन्। शिखर नगरपालिका-३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन्।
 
विसं २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए।

२० रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताए। 'बीउ फरक-फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो। प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु', महराले भने।

एक दिन काम गरेबापत एक जनालाई आठ केजी प्याज दिने सहमति भएको उनले बताए। उनले सिजनमा २५ देखि ३५ रुपैयाँ प्रतिकिलो बेसिजनमा ४५ देखि ८० रुपैयाँ प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आएका छन्। 

प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताउँछन्। उनले भने, 'सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ।' 

महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गरेका छन्। पहिलोपटक एक सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन्। महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। 

महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उनलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताए।

महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उनले बताएका छन्। किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिए।
 
यसैगरी, बोगटान फुड्सिल गाउँपालिका-१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गरेका छन्। उनले काटैस्थित मौडामा प्याजखेती गरिरहेको बताए।

उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर कृषि पेशा गरिरहनुभएका बमले तीन वर्षदेखि प्याजखेती गर्न थालेका हुन्। बमले थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको बताए।  

दिपायल सिलगढी नगरपालिका-२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गरेका छन्। उनले छ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको बताए। लसुनप्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उनले सुनाए। रासस   


प्रकाशित : आइतबार, चैत २५ २०८००९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend