सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जुम्लामा ८४ हजार भेडा

शुक्रबार, चैत २३ २०८०
जुम्लामा ८४ हजार भेडा

पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन्।

काठमाडौं- पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन्।

जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन्। बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए। पाँच वर्षअघि भेडापालनको सङ्ख्या घटेको भन्दै अहिले उक्त सङ्ख्या बढ्दै गएको उनको भनाइ छ।

‘भेडापालनमा प्रमुख समस्या भनेको विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि किसानलाई सास्ती भएसँगै सङ्ख्या घट्दै गएको थियो’, प्रमुख बुढ्थापाले भने, ‘पहिले यहाँका भेडालाई अछाम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत र दाङसम्म लैजान्थे तर कर लिने गरेका थिएनन्।’ अहिले सङ्घीय, प्रदेश र स्थानीय सरकार भएकाले विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडा पालक किसान मारमा परेका उनको भनाइ छ।

कार्यालय प्रमुख बुढ्थापाले यहाँ चरन क्षेत्रको कुनै समस्या नभएको भन्दै जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको जानकारी दिए। कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधित तालिम दिँदै आइएको उनले बताए।

अहिले किसानसँग पशुपालनका नाममा तथा एक पालिबाट अर्को पालिकामा लैजाँदा कर उठाउने गरेकाले समस्या भएको भन्दै किसानको उक्त समस्या समाधान भए भेडापालन अझ फस्टाउँदै जाने कार्यालय प्रमुख बुढ्थापाले बताए।

केही वर्षपहिला यहाँका स्थानीयले घरमा चामल र नुन ल्याउन सुर्खेतबाट  जुम्लासम्म भेडाबाट ल्याउने गरेका तिला गाउँपालिका–१ का भेडा पालक किसान लालबहादुर रावतले बताए।

‘अहिले समय परिवर्तन भएको छ। उहीँले एक महिना लगाएर तराईबाट भेडामार्फत खाद्यन्न सामग्रीको दुवानी हुन्थ्यो’, उनले भने, ‘अहिले विकासका पूर्वाधार विस्तार भएसँगै ग्रामीण भेगसम्म सडक निर्माण भएका छन्। यातायातका साधन पुगेका छन्। यसले भेडाको माग बढ्नुका साथै ढुवानीमा सहज बनाएको छ।’

अहिले भेडामार्फत खाद्यन्न तथा उपभाग्य सामग्री ढुवानी हुन छोडेको स्थानीय बताउँछन्। भेडाको ऊन राडी, पाखी, कोट, कपडा बुन्न प्रयोग हुँदै आएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत २३ २०८०१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend