आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

भारतीय बजार सस्तो हुँदा नेपालमा पनि महँगी घट्यो, मुद्रास्फीति न्यून बिन्दुतर्फ

images
बिहीबार , चैत २२ २०८०
images
भारतीय बजार सस्तो हुँदा नेपालमा पनि महँगी घट्यो, मुद्रास्फीति न्यून बिन्दुतर्फ

भारतसँग नेपालको स्थिर विनियम दर रहेकाले पनि महँगी नेपालमा भारतबाट प्रसार हुने गरेको देखिन्छ। भारतसँग नेपालको व्यापार हिस्सा कुल व्यापारको दुई तिहाइभन्दा बढी रहेको छ।

images
images

काठमाडौं- राष्ट्र बैंकको तथ्यांकले महँगी घट्दै गएको देखाएको छ। विभिन्न ४ सय ९६ वटा वस्तुहरूको औषतका आधारमा तयार पारिने उपभोक्तामा आधारीत मुद्रास्फीति यस वर्षकै न्यून बिन्दुमा आएको छ। 

images
images
images

राष्ट्र बैंकले प्रकाशन गरेको फागुन महिनाको तथ्यांकअनुसार उपभोक्तामा आधारित मुद्रास्फीति ४.८२ प्रतिशतमा आएको छ। चालु आर्थिक वर्ष साउन महिनामा ७.५२ प्रतिशत, भदौमा ८.१९ प्रतिशत, असोजमा ७.५ प्रतिशत रहेको मुद्रास्फीति कात्तिकपछि निरन्तररुपमा घट्दै गएको छ।

images
images

कात्तिकमा ५.३८ प्रतिशत, मंसिरमा ४.९५ प्रतिशत, पुसमा ५.२६ प्रतिशत, माघमा ५.०१ प्रतिशत र फागुनमा ४.८२ प्रतिशत मुद्रास्फीति कायम भएको छ। 

images
images

अघिल्लो वर्षको साउनमा ८.२६ प्रतिशत, भदौमा ८.६१ प्रतिशत, असोजमा ८.५० प्रतिशत, कात्तिकमा ८.०८ प्रतिशत, मंसिरमा ७.३८ प्रतिशत, पुसमा ७.२६ प्रतिशत, माघमा ७.८८ प्रतिशत र फागुनमा ७.४४ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

चालु आर्थिक वर्षको हालसम्ममा औषत मुद्रास्फीति ६.०८ प्रतिशत रहेकोमा गत वर्षको अन्त्यसम्ममा ७.७४ प्रतिशत रहेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तुको मुद्रास्फीति करिब १० प्रतिशत र भारतमा ९ प्रतिशत बिन्दुले घटेकाले नेपालको पनि मुद्रास्फीति कम देखिएको हो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतको मरमसलाको मूल्यवृद्धि २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्याजन्य पदार्थको ७.३५ प्रतिशतले बढेको छ। घ्यू तथा तेलको मूल्यवृद्धि ११.७९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। 

समीक्षा अवधिमा काठमाडौं उपत्यकाको ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.५९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत मुद्रास्फीति रहेको छ।

नेपालको आन्तरिक बजारले मात्रै मुद्रास्फीतिको निर्धारण गर्न सक्दैन। आन्तरिक उत्पादन कमजोर रहेको र भारत चीनलगायत तेस्रो मुलुकबाट आयात हुने वस्तुले नेपालको मुद्रास्फीति निर्धारण गर्ने गर्दछ। अन्तर्राष्ट्रियस्तरमा वस्तुको मूल्य बढेमा नेपालमा महँगी बढ्ने र अन्तर्राष्ट्रियस्तरमा घटेमा नेपालमा पनि घट्ने प्रवृत्ति रहेको छ। 

पछिल्लो समय भारतको औषत मुद्रास्फीति ५.४५ प्रतिशत रहेको छ। भारतको भन्दा नेपालको उपभोक्तामा आधारित मुद्रास्फीति ०.८१ प्रतिशतले बढी रहेको छ। फेब्रुअरीमा भारतको मुद्रास्फीति ५.०९ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको कात्तिक, मंसिर र माघमा नेपालको मुद्रास्फीति भारतको भन्दा कम रहेको छ भने अन्य महिनाहरूमा भारतमा नेपालभन्दा उपभोग्य वस्तुको मूल्य सस्तो रहेको छ।

कात्तिकमा नेपालको मुद्रास्फीति भारतको भन्दा ०.१७ प्रतिशत, मंसिरमा ०.७४ प्रतिशत र माघमा ०.०८ प्रतिशत बिन्दुले कम रहेको छ।चालु आर्थिक वर्षको भदौ महिनामा नेपालको तुलनामा भारतको मुद्रास्फीति ३.१७ प्रतिशत र असोजमा २.६३ प्रतिशत बिन्दुले कम रहेको छ। 

नेपालको उपभोक्तामा आधारित मुद्रास्फीति सूचांक सन् २०१४ मा नेपाल राष्ट्र बैंकले गरेको सर्भेका आधारमा तयार पारिएको हो। जसमा एउटा वस्तुमात्रै नभइ ४ सय ९६ वटा वस्तुको मूल्य सूचांकलाई प्रदान गरिएको भारले मूल्यलाई गणना गरी त्यसको औषतबाट मुद्रास्फीति गणना गरिन्छ। 

सन् २०१४ मा गरिएको मूल्य सर्भेक्षण भएकाले त्यसबेला कम उपयोग हुने वस्तुहरूलाई कम भार प्रदान गरिएको छ। हाल ठूलो मात्रामा उपभोग भइरहेका कतिपय वस्तुहरू यस सूचीमा समावेश छैनन्।

सवारी साधानहरूलाई विलासी वस्तुमा वर्गीकरण गरी उक्त मूल्य सूचांकमा समावेश गरिएको छैन। वस्तु तथा सूची करिब १० वर्ष पुरानो भएकाले पनि मुद्रास्फीतिको तथ्यांक केही तलमाथि हुने गरेको राष्ट्र बैंकको दाबी छ। 

राष्ट्र बैंकले तयार पारेको राष्ट्रिय उपभोक्ता मूल्य सूचांकमध्ये खाद्यान्न तथा गैर खाद्यान्न गरी दुई भागमा विभाजन गरी भार प्रदान गरिएको छ। 

जसमा खाद्यान्नभित्र रहेका वस्तुहरूलाई कुल ४३.९१ प्रतिशत भार प्रदान गरिएको छ भने गैरखाद्यान्नलाई ५६.०९ प्रतिशत भार प्रदान गरिएको छ। जसमध्ये सुर्तिजन्य वस्तुको सबैभन्दा कम भार ०.४१ प्रदान गरिएको छ भने खाद्यान्न बालीलाई सबैभन्दा धेरै ११.३३ भार दिइएको छ। 

गैरखाद्यान्नतर्फ रियलस्टेटलाई सबैभन्दा धेरै २०.३० प्रतिशत भार र दूरसञ्चारलाई सबैभन्दा कम २.८२ प्रदान गरी मुद्रास्फीति गणना गरिएको छ।

यस्तै क्षेत्रगतरुपमा तराईका १९ जिल्ला, पहाडका २५ जिल्ला र हिमालका ५ जिल्लाका आधारमा मूल्यसूची तयार पारिएको छ। जसमध्ये पनि काठमाडौं उपत्यकामा हुने मुद्रास्फीतिले सबैभन्दा बढी भार पाउँछ।

यद्यपी नेपाली मुद्रास्फीतिमा तलमाथि हुनुमा नेपालको आन्तरिक बजारभन्दा पनि अन्तर्राष्ट्रिय बजार विशेषगरी प्रमुख कारण हुने राष्ट्र बैंकको दाबी छ। भारतसँग नेपालको स्थिर विनियम दर रहेकाले पनि महँगी नेपालमा भारतबाट प्रसार हुने गरेको देखिन्छ। भारतसँग नेपालको व्यापार हिस्सा कुल व्यापारको दुई तिहाइभन्दा बढी रहेको छ। 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend