आइतबार, जेठ ६ गते २०८१    
images
images

तेस्रो लगानी सम्मेलन : तीन औद्योगिक क्षेत्र निर्माणको आयोजना सोकेसमा, कुनको लागत कति?

images
बिहीबार , चैत २२ २०८०
images
images
तेस्रो लगानी सम्मेलन : तीन औद्योगिक क्षेत्र निर्माणको आयोजना सोकेसमा, कुनको लागत कति?
images
images

काठमाडौं- सरकारले आउने बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दै छ। लगानी सम्मेलन व्यवस्थापनको सम्पूर्ण काम लगानी बोर्डले गरिरहेको छ। बोर्डले सम्मेलनको समय नजिकिँदै जाँदा सम्मेलनमा प्रस्ताव गरिने 'प्रोजेक्ट बैंक' छनोट तथा तिनीहरूको विवरण तयार पार्ने काम गरिरहेको छ।

images
images
images

सोहीअनुरुप बोर्डले अहिलेसम्म लगानी सम्मेलनको सोकेसमा तीनवटा औद्योगिक क्षेत्र निर्माणको आयोजना समावेश गरेको छ।

images

बोर्डले दैजी-छेला औद्योगिक क्षेत्र, शक्तिखोर ‌‌औद्योगिक क्षेत्र र पाँचखाल औद्योगिक क्षेत्र लगानी सम्मेलनका लागि तयार पारेको प्रोजेक्ट बैंकमा समावेश छन्। तीनवटा आयोजनाको पूर्वाधार निर्माणमा कुल आधा खर्ब रुपैयाँको लागत अनुमान गरिएको छ। 

images
images

यस्तो छ आयोजना गत विवरण :

images
images

१) दैजी-छेला औद्योगिक क्षेत्र

यो औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय २०७२ चैत १ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो। उक्त आयोजना तेस्रो लगानी सम्मेलतको प्रोजेक्ट बैंकमा समावेश भएको छ। 

यो आयोजना कञ्चनपुरको वेदकोटमा पर्दछ।  मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला यो कार्यक्रम घोषणा भएको थियो। 

औद्योगिक क्षेत्रको शिलान्यास दोस्रो पटक प्रधानमन्त्री भएको बेला केपी ओलीले गरेका थिए। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। लगानी बोर्डले तयार पारेको विवरणमा आयोजनाको कुल लागत अनुमान ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

औद्योगिक क्षेत्रमा ०.४६ देखि १३.६४ हेक्टर आकारका १०० प्लट हुनेछन् र यसमा कृषिमा आधारित उद्योग, खनिजमा आधारित उद्योग, विद्युतीय तथा विद्युतीय उद्योगहरू सञ्चालन हुने विवरणमा उल्लेख छ।

जहाँ विभिन्न प्रशासनिक ब्लक, अडिटोरियम, क्यान्टिन ब्लक, गोदाम, कस्टम ब्लक, आवास, स्टाफ क्वार्टर, टिकट काउन्टर, ल्याब र गार्ड ब्लक, साइकल लेनसहितको ४ लेनको सहरी सडक, साइड ड्रेन, साइड वाक, खानेपानी आपूर्ति र अग्निनियन्त्रण लगायतका संरचना निर्माण हुनेछ।

२) शक्तिखोर ‌‌औद्योगिक क्षेत्र 

लगानी सम्मेलनका लागि लगानी बोर्डले तयार पारेको प्रोजेक्ट बैंकमा शक्तिखोर औद्योगिक क्षेत्र पनि समावेश गरिएको छ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले माओवादी लडाकु शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो। तर अहिलेसम्म ‌औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढेको छैन। 

शक्तिखोरमा विशेष औद्योगिक क्षेत्र (सेज) स्थापना गर्नका लागि नेपाल उद्योग परिसंघ (सीआईएन) ले प्रस्ताव गरिसकेको छ। शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका ३, ७ र ८ र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाको १ हजार १७८ हेक्टर जग्गा तोकिएको छ।

सरकारले घोषणा गरेको भएपनि औद्योगिक क्षेत्र निर्माण कार्यक्रम अलपत्र नै छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) मा भएको त्रुटीले थप ढिलाइ भइरहेको छ। 

डीपीआर र ईआइए तयार भए पनि वन निर्देशनालय बागमती प्रदेश हेटौँडाले जैविक विविधताको संवेदशिलता औँल्याउँदै तत्काल काम अगाडि नबढाउन निर्देशन दिएपछि काम रोकिएको हो। सोही आयोजनामा कुल लागत अनुमान ३९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।

जहाँ उद्योग स्थापनाका लागि प्लट, पहुँच सडक, हरियाली ठाउँ, पुल र नदी संरक्षण कार्य, बाँध, निगरानी र सुरक्षा, ढल निकास, पानी निकास लगायतको संरचना निर्माण हुनेछ।

३) पाँचखाल औद्योगिक क्षेत्र

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा पाँचखाल विशेष आर्थिक क्षेत्र निर्माणको आयोजनालाई पनि प्रोजेक्ट बैंकमा समावेश गरेको छ।

बोर्डले तयार पारेको रिपोर्टमा आयोजनाको विस्तृत अध्ययन भएको जनाएको छ। आयोजनाको लागत १ अर्ब ५७ करोड रुपैयाँ अनुमान गरेको छ।  

प्रस्तावित पाँचखाल औद्योगिक क्षेत्रमा ५० हेक्टर जमिन छ। जसको २५.८ प्रतिशत उत्पादन इकाईका लागि र बाँकी समर्थन सेवाका लागि प्रयोग गर्न सकिने रिपोर्टमा उल्लेख छ।

यसले करिब ५२ इकाइलाई समायोजन गर्ने र २६ सय जनालाई प्रत्यक्ष रोजगारी दिने अनुमान बोर्डले तयार पारेको आयोजना विवरणमा उल्लेख छ। जहाँ ६०/४० मिटरको औद्योगिक प्लट, पहुँच सडक, सीमा पर्खाल, प्रवेश गेट, पार्किङ, खानेपानी सप्लाई तथा ढल व्यवस्थापन, फोहोर पानी प्रशोधन प्लान्ट, विद्युतीय उपयोगिता, दूरसञ्चार सेवा, नदी तालिम कार्य लगायतका संरचना निर्माण हुने छ।

यसैबीच सरकारले पाँचखाल औद्योगिक ग्राम ‘महिला उद्योग ग्राम’मा रूपान्तरण गर्ने निर्णय गरिसकेको छ।

भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने काम सम्पन्न भइसकेको छ। ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भइ प्रक्रिया अघि बढाइएको थियो।

प्रारम्भिक चरणमा ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्यांकी निर्माण तथा डीपीआर तयार गर्न ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो। बागमती प्रदेशका संघीय अनुदानप्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका छ स्थानीय तहमा आर्थिक वर्ष ०७६/७७ मा सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो।

सोहीअनुसार काभ्रेमा तीन तथा मकवानपुर, चितवन र दोलखामा एक-एकवटा औद्योगिक ग्राम स्थापना गर्ने गरी सरकारले सडक स्तरोन्नति, कम्पाउन्ड, डीपीआर तयार, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए), खानेपानीलगायतको व्यवस्था गर्न थप ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सम्झौताअनुसार पाँचखाल नगरले वडा ७ (साविक होक्से गाविस) मा ग्राम स्थापना र विकासका लागि सोही वडाको कित्ता ८९, ९० र ११३ को करिब पाँच हेक्टर जग्गा २५ वर्षका लागि उपलब्ध गराएको हो।


प्रकाशित : बिहीबार , चैत २२ २०८००७:४३
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend