सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम

बुधबार, चैत २१ २०८०
आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
फाइल तस्बिर

यहाँका किसानले पाँच हेक्टर जमिनमा आलुखेती गरेर वार्षिक ९० मेट्रिक टनभन्दा बढी आलु उत्पादन गर्दै आएको स्थानीय बताउँछन्।

गुल्मी- यहाँका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन्। जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ५ स्थित बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यावसायिक रुपमा आलु उत्पादन गरिँदै आएको छ।

त्यस क्षेत्रमा ६० घरपरिवार आलु र तरकारी पकेट समूह बनाएर स्मार्ट कृषि गाउँ कार्यक्रममा आबद्ध छन्।

यहाँका किसानले पाँच हेक्टर जमिनमा आलुखेती गरेर वार्षिक ९० मेट्रिकटनभन्दा बढी आलु उत्पादन गर्दै आएको स्थानीय किसान मेघराज गिरीले जानकारी दिए।

बम्घा टाहाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनी क्षेत्रफलमा आलुखेती गरेकी छिन्। उनको बारीमा र खेतमा गरेर यसपटक २० क्विन्टलभन्दा बढी आलु उत्पादन भएको छ। आलुसँगै उनले खेतमा धान, मकै, सिमी र काउली पनि उत्पादन गर्छिन्।

टाहाटिमका किसानहरु यतिबेला खेतमा आलु खन्न व्यस्त छन्। गत वर्षको तुलनामा यसपटक आलुले राम्रै बजार पाएको स्थानीय किसान मेघलाल गिरीले बताए। उनका अनुसार अहिले स्थानीय बजारमा प्रतिकिलो ४० रूपैयाँमा धमाधम आलु बिक्री भइरहेको छ।

लुम्बिनी प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र गुल्मीद्वारा टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भइरहेको छ। बम्घाको टाहाटिममा दुई वर्षअघिदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए।

कृषि ज्ञान केन्द्रले बीउ, मल, विषादी, मेसिन, सिँचाइ र बीउ संकलन केन्द्रसम्म पुर्‍याउन ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए। बम्घाको टाहाटिमका किसान पूर्खौँदेखि आलुखेती गर्दै आइरहेका छन्।

आलु खेतीका लागि उर्वरभूमि भएका कारण त्यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्य रुपमा आलु उत्पादन हुने गर्दछ। पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ। बम्घामा भने कमिलोभन्दा समय समयमा डढेलोको प्रकोप बढी देखिने गरेको बताइएको छ।

कृषि ज्ञान केन्द्रले जिल्लाको मुसिकोट नगरपालिका- १ अन्तर्गत भर्माचौर, सत्यवती गाउँपालिकाको साहघाट, मदाने गाउँपालिका ६ अन्तर्गत सिम र मालिका गाउँपालिकाको अर्खाबाङ्मा आलुको पकेट क्षेत्र बनाइ व्यावसायिक रुपमा आलु र आलुको बीउ उत्पादन गर्दै आइरहेको छ। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८०१४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend