आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नयाँ वर्षसँगै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग र सुनकोशी-मरिण डाइभर्सन सुरुङको ‘ब्रेकथ्रु’ हुँदै

बुधबार, चैत २१ २०८०
नयाँ वर्षसँगै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग र सुनकोशी-मरिण डाइभर्सन सुरुङको ‘ब्रेकथ्रु’ हुँदै

यता सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम नयाँवर्षको आसपासमा सकिने भएको छ। आयोजानाले आगामी बैशाख दोस्रोसाता सम्म सुरुङ 'ब्रेक थ्रु'को तयारी गरेको छ

काठमाडौं- दुई ठूला परियोजनाको सुरुङमा ‘ब्रेकथ्रु’ हुन अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यका भित्रिने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी बैशाख ३ गते हुने मिति आयोजनाले घोषणा गरिसकेको छ। 

सुरुङ खन्नका लागि दुई मिटरमात्रै बाँकी रहेता पनि निर्माणको जिम्मा पाएको कम्पनी हाजमा एण्डो कर्पोरेसनका आयोजना प्रमुख केनइची इनोई जापानमा रहेकोले आगामी बैशाख ३ गतेका लागि सारिएको आयोजनाले जनाएको छ।

यता सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम नयाँवर्षको आसपासमा सकिने भएको छ। आयोजानाले आगामी बैशाख दोस्रोसाता सम्म सुरुङ 'ब्रेक थ्रु'को तयारी गरेको छ।

सुनकोशी-मरिणमा१३.३ किमि सुरुङमध्ये १२.५१७ किमि सुरुङ निर्माण भएको छ। आयोजनामा कमलामाई नगरपालिका-२ कुसुमटारदेखि सुनकोशी गाउँपालिका-७ कानढुंग्रीसम्म सुरुङ बनिरहेको हो।

काठमाडौं जोड्दै सुरुङ मार्गले

लामो रस्साकस्सीपछि काठमाडौं जोड्न पहिलो सुरुङ मार्ग निर्माण भएर अन्तिम चरणमा पुगेको छ। निर्माण भएर सञ्चालन हुन अझै मंसिरसम्म भने कुर्नपर्ने हुन्छ। नागढुंगा उकालोमा हुने घण्टौँको ट्राफिक जामको समस्या हल हुने बताइएको छ। 

सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर बनाउन थालेको सुरुङ निर्माणको कुल २२ अर्ब खर्च हुने छ। उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ।

यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एक महिना काम ठप्प पारेका थिए। जसका कारण गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका प्रभावित भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि यही चैत ६ देखि पुनः निर्माण सुरु भएको थियो। अब भने सुरुङको काम सकिएर बैशाख ३ मा ब्रेकथ्रु गर्न लागिएको हो। 

सुरुङ बनेपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ। मुख्य सुरुङको दूरी २.६८८ किमि छ। आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भइसकेको छ। थानकोटमा फ्लाइओभर निर्माणाधीन छ। 

सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्। यो आयोजना निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ।

सम्झौताअनुसार आयोजनाको समयावधि २०८० बैशाखमा सकिएको हो। उक्त समयभित्र काम नसकिएपछि २०८१ बैशाख १३ सम्मलाई म्याद थपिएको छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो।

मधेशमा सिँचाइ पुर्‍याउने सुनकोशी-मरिण डाइभर्सन

चार वर्षभित्रमा मधेश प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउने र ३१.७ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेगरी ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’को काम धमाधम भइरहेको छ। 

ठेक्का प्रक्रियाको ढिलाइका कारणले अबको दुई वर्षमै सकिनुपर्ने काम पर धकेलिएकोमा अब भने भौतिक क्षति हुनेगरी समस्या नआएमा थप भएको समयमा नै काम हुनेछ। राष्ट्रिय गौरवको ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ चार वर्षभित्र निर्माण सम्पन्न भएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइको सुविधा पुग्ने छ। 

३१.७ मेगावाटको बिजुलीसमेत उत्पादन हुने आयोजनाले विशेषगरी तराईका ठूला पाँच जिल्लामा सिँचाइका लागि ठूलो महत्व बोकेको छ। जसले धान उत्पादनमा ठूलो फड्को मार्न सकिने अनुमान गरिएको छ। 

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउनु आयोजनको मुख्य लक्ष्य रहेको छ। १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने र देशको कृषि उत्पादन बढाउने सरकारको लक्ष्य छ। १३.३ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीमा पुर्‍याइने छ। अहिलेसम्म १२.५१७ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजना प्रमुख बराल बताउँछन्। 

सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेन्ड पानीलाई उक्त नदीमा बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पुर्‍याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादन गरीने निर्देशक बराल बताउँछन्।

पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६ सय हेक्टर र ४५ हजार ४ सय हेक्टर गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।


प्रकाशित : बुधबार, चैत २१ २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend