सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

८० बिघा जमिन भाडामा लिएर केराखेती, १० जनालाई नियमित रोजगारी

सोमबार, चैत १९ २०८०
८० बिघा जमिन भाडामा लिएर केराखेती, १० जनालाई नियमित रोजगारी

फार्मका अध्यक्ष वासु उप्रेतीले सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठ्ने बताए।

भद्रपुर- झापाको गौरीगञ्ज-५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ। उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन्।

केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए। उनका अनुसार ८० बिघा जमिन भाडामा लिएर केराखेतीमा लगाइएको छ भने हालसम्म दुई करोड रूपैयाँ खर्च भइसकेको छ। सञ्चालक थापाले भने, '९० हजार केराका बिरुवा लगाएका छौँ। एउटा बिरुवाबाट अर्को बिरुवाको दुरी छ दशमलव पाँच फिट हुन्छ।'

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ब्लक विकास’ कार्यक्रममार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रले फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ।

केन्द्रका प्राविधिक अञ्जु आचार्यका अनुसार केन्द्र र फार्मको ५०/५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको छ। उनका अनुसार पम्पसेट, पाइप मोटर्स, प्राङ्गारिक मललगायतमा दुवै पक्षको ३० लाख नौ हजार सातसय रूपैयाँ खर्च भएको छ।

'फार्मले खानासहित दैनिक पाँचसय रूपैयाँ ज्याला दिन्छ। घर नजिकै रोजगारी पाएका छौँ। रोजगारीका लागि अरु देश जानु परेको छैन। यो हाम्रा लागि खुसीको कुरो हो', फार्मका कामदार एकबार मियाँले भने।

फार्मका अध्यक्ष वासु उप्रेतीले सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने बताए। लगानी उठेपछि खेती विस्तार गर्दै लैजाने योजना पनि रहेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, चैत १९ २०८०१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend