सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मुङखेती विस्तार गर्न बीउमा ७५ प्रतिशत अनुदान

आइतबार, चैत १८ २०८०
मुङखेती विस्तार गर्न बीउमा ७५ प्रतिशत अनुदान

आलु, तोरी र अन्य हिउँदे बाली लगाएको खेतमा मुङखेती गरेर छोटो समयावधिमा लाभ लिन सकिनेछ।

कैलाली- धनगढी उपमहानगरपालिकाले मुङखेती विस्तार गर्न किसानलाई बीउमा अनुदान दिएको छ। मुङको बीउमा अनुदान दिएर उत्पादन बढाउने उद्देश्यले किसानलाई मुङको बीउमा अनुदान दिइएको हो।

गत वर्ष बीउमा शतप्रतिशत अनुदान दिएको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदान दिएको कृषि शाखाले जनाएको छ। मुङखेतीमा किसानको आकर्षण बढाउन यस वर्ष ५७ किसानलाई मुङबीउमा अनुदान दिइएको उपमहानगरले जनाएको छ।

आलु, तोरी र अन्य हिउँदे बाली लगाएको खेतमा मुङखेती गरेर छोटो समयावधिमा लाभ लिन सकिनेछ। धनगढी उपमहानगरपालिकाले मुङखेती प्रवर्द्धन गर्ने नीतिअनुसार यस वर्ष पाँच वडाका किसानलाई मुङखेती गर्न बीउमा अनुदान उपलब्ध गराएको हो।

उपमहानगरले गत वर्ष कृषि विकास निर्देशनालयबाट प्राप्त बीउ वडा नं ६, ९, १२, १७ र १८ का एक सय ९१ किसानलाई निःशुल्क उपलब्ध गराएको हो। गत वर्ष धनगढीमा किसानले ७५ बिघामा मुङखेती गरेको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए।

गत वर्ष धनगढीका एक सय ९१ किसानले ७५ बिघामा मुङखेती गर्दा २० टन उत्पादन भएको उनको भनाइ छ। गत वर्ष निःशुल्क बीउ वितरण गरेको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदानका लागि पाँच सय ५० किलोग्राम बीउमात्रै किसानलाई बीउ वितरण गरिएको जनाइएको छ।

उपमहानगरपालिकाभित्र यस वर्ष ३० बिघामा मुङखेती गरिएको छ। मुङखेतीमा राम्रो आम्दानी हुने भए पनि खेती गर्दा हरेक तीन-चार दिनको अन्तरमा कोसा टिप्नुपर्ने, समयसमयमा सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसानले रुचि नदेखाएको कृषि शाखा प्रमुख उपाध्यायले बताए। गहुँ काटेपछि खाली रहेको जमिनमा मुङखेती गरेर किसानले लाभ लिने उपाध्यायले जनाए।

धनगढीका सबै वडामा मुङखेती गर्न सकिने भए पनि हरेक तीन-चार दिनमा कोसा टिप्नुपर्ने, सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसान मुङखेतीतर्फ आकर्षण बढ्न नसकेको जनाइएको छ। गत वर्ष किसानले उत्पादन गरेको मुङ रु एक सय २० किलोग्रामका दरले बिक्री गरेको उपमहानगरपालिकाले जनाएको छ।


प्रकाशित : आइतबार, चैत १८ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend