आइतबार, जेठ ६ गते २०८१    
images
images

पुन: उडानमा फर्कने प्रयास गर्दै गुण एयरलाइन्स, तर छैन सहज

images
आइतबार, चैत १८ २०८०
images
images
पुन: उडानमा फर्कने प्रयास गर्दै गुण एयरलाइन्स, तर छैन सहज

उडान बन्द भएको एक वर्षको बीचमा गुणले कहिले जहाज बिक्रीको लागि कम्पनी खोज्ने त कहिले कम्पनी नै बिक्री गर्न खोजेको थियो। तर केही नभएपछि फेरि उडानमा फर्कन लागेको हो।

images
images

काठमाडौं- २०७९ फागुन १ गतेबाट उडान बन्द भएको गुण एयरलाइन्सले पुन: उडानमा फर्कनेगरी लविङ गरिरहेको छ। आर्थिक संकटका कारण बन्द भएको गुण एयरलाइन्स फेरि उडानका फर्कन लागेको हो।

images
images
images

उडानमा फर्कनका लागि एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता भुक्तानीमा लागि किस्ताको सुविधा मागेर पत्रसमेत पठाइसकेको छ। गुण एयरलाइन्सका मुख्य लगानीकर्ता राजेन्द्र शाक्य हुन्।

images

एयरलाइन्सको पाँच करोड बक्यौता रहेकोमा एक करोड रुपैयाँ बैंकमा राखेको धरौटी जमानतबाट प्राधिकरणले लिइसकेको छ। अब ४ करोड रुपैयाँ बाँकी छ। उक्त रकम मासिक २५ लाख रुपैयाँका दरले तिर्ने र उडानमा फर्कने गरी एयरलाइन्सले तयारी गरिरहेको छ। 

images
images

आर्थिक रुपमा नै संकटमा परेको एयरलाइन्सले कसरी आर्थिक व्यवस्थापन गरेको छ त्यो विषयमा प्राधिकरणले समेत अध्ययन गर्ने छ। कर्मचारीलाई तलबसमेत खुवाउन नसकेपछि उडान नै बन्द भएको एयरलाइन्स फेरि त्यही साना जहाजबाटै उडानमा फर्केर कसरी सफल हुने हो भन्ने प्रश्न उठेको प्राधिकरण उच्च तहका कर्मचारी बताउँछन्।

images
images

गुणको उडान बन्द भएको एक वर्ष भएको छ। सबै पाइलटहरुको तालिम गर्नुपर्ने छ। अधिकांश कर्मचारी कटौती गरिएको छ। कर्मचारी व्यवस्थापनदेखि सुरक्षित उडानका लागि सबै काम भए/नभएको विषयमा अध्ययनपछि मात्रै उडानमा फर्कन पाउने प्राधिकरणको भनाइ छ।

गुणसँग ७ वटा जहाज भएपनि बन्द हुँदा ३ वटा मात्रै जहाज उडानमा थिए। अहिले ती ३ वटा जहाज पनि उडानमा आउछ नि आउँदैन भन्ने थाहा छैन।

आन्तरिक उडानमा अहिले बुद्ध र यतीले ७२ सिट क्षमता र श्री ले ८० सिट क्षमताको जहाजबाट उडान गरिरहेको छ। सौर्यको पनि ठूलै जहाज हो। तर गुणसँग रहेका यतीसँग खरिद गरेका पाँच वटा २८ सिट क्षमताका जेट स्ट्रीम जहाज र १९ सिट क्षमताका विजक्राफ्ट जहाज छ। 

उसले उडान गर्ने सबै गन्तव्यमा ठूला जहाजबाट नै उडान हुन्छ। ठूला जहाजबाट उडान हुँदा लाग्ने खर्चभन्दा साना जहाजबाट हुने उडानको खर्चमा केही सहजता हुन्छ। त्यसमा पनि एटीआरको उडान खर्चसँग अन्यको खर्च बढी हुन्छ। त्यसमा पनि गुणले यतीसँग किनेको जहाजको राम्रो पर्फमेन्स छैन। 

उदाहरणका लागि श्रीले पोखरा उडानमा ८० सिट क्षमताको जहाज प्रयोग गरिरहेको बेला गुणले २८ सिट क्षमताको जहाज उडान गर्नु व्यसवसायिक फाइदा हुँदैन। त्यसमा पनि ७ वटा जहाजमध्ये ४ वटा जहाज पहिले नै ग्राउन्डेड गरिएको छ। जहाज उडानयोग्य बनाउन ठूलै खर्च लाग्छ।

ग्राउन्डेड जहाजका कतिपय पाटपुर्जा त उडानमा रहेका जहाजमा झिकेर हालिएको छ। जसका कारण गुण एयरलाइन्स यही जेट स्ट्रीमबाट उडानमा फर्कने हो भने फेरि संकटको भूमरीमा पर्ने निश्चित भएको एक वायुसेवा कम्पनीका सञ्चालकले बताए।

ती सञ्चालनका अनुसार कुनै पनि एयरलाइन्स कम्पनीले उडानका लागि ल्याएको जहाज उडानमा प्रयोग नगरी वर्षौं ग्राउन्डेड गर्छ भने त्यो एयरलाइन्समा वित्तीय संकट छ र त्यसले हवाई सुरक्षामा समेत असर पार्ने गर्छ।

उडानका आएका जहाज उडान नगरी लामो समयसम्म जहाज ग्राउन्डेड गर्ने कम्पनीहरुको विषयमा प्रश्न उठेपछि प्राधिकरणले पनि एयरलाइन्स कम्पनीको वित्तीय अवस्थामा अध्ययन गर्नु पर्ने समय आएको प्राधिकरण स्रोत बताउँछ।

'विमानस्थललाई तिर्न बाँकी रकम तिरेर जहाज उडानमा आउँछु भनेको बेलामा तिमीहरुको जहाज सानो छ, बिजनेस सर्भाइबल हुन सक्दैन भनेर रोक्न नमिल्ने' प्राधिकरण स्रोत बताउँछ। तर गुण एयरलाइन्स फेरि त्यही एक वर्षअगाडिकै अवस्थाबाट उडानमा फर्कने हो भने जुनसुकै दिन उडान बन्द  हुने स्रोतको दाबी छ।

सिम्रिक एयरको नाम परिवर्तन गरी २०७८ को असोजबाट उडानमा फर्किएको गुण एयरलाइन्स १७ महिनामै आर्थिक संकटका कारण बन्द भएको थियो। अहिले फेरि उडानमा आउने तयारी गरेको हो। तर उसले ठूला जहाज भित्र्याउँदै उडान गरेको अवस्थामा हवाई उद्योगमा टिक्न सक्छ अन्यथा उडानमा आएपनि लामो समय टिक्न नसक्ने प्राधिकरण स्रोतको दाबी छ। प्राधिकरण स्रोतका अनुसार अब आन्तरिक उडानमा प्राइसवारको संकेत देखिएका कारण पनि साना जहाज उडान गर्ने कम्पनी टिक्न सक्दैन। 

उडान बन्द भएको एक वर्षको बीचमा गुणले कहिले जहाज बिक्रीको लागि कम्पनी खोज्ने त कहिले कम्पनी नै बिक्री गर्न खोजेको थियो। तर केही नभएपछि फेरि उडानमा फर्कन लागेको हो। गुणले जसरी उडानमा फर्कन लागेको छ त्यो दीर्घकालीन हुन नसक्नेमा प्राधिकरणकै कर्मचारीहरू विश्वस्त छन्। 


प्रकाशित : आइतबार, चैत १८ २०८००२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend