सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

उन्नत जातको मकैमा लागेन दाना, किसान भन्छन् - 'धेरै फल्ने आशमा महँगो बीउ रोप्दा लगानी सबै डुब्यो'

शनिबार, चैत १७ २०८०
उन्नत जातको मकैमा लागेन दाना, किसान भन्छन् - 'धेरै फल्ने आशमा महँगो बीउ रोप्दा लगानी सबै डुब्यो'

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो।

सर्लाही- उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो। 

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे। प्रतिकिलो ६ सय ५० रूपैयाँमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका-४, का किसान राम विश्वास महतोले बताए। 'धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो', उनले भने, 'अहिले सबै लगानी डुब्यो।'

बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ। यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन्।

प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे। उनले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए। उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन।

महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन्। किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा-५ कि ललिता साहको आरोप छ। मकैमा दाना नलागेपछि आफूहरु संकटमा परेको उनले गुनासो गरे।

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजार रूपैयाँदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ।

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन्। मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए।

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ। नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे।

मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनको दाबी छ। 'किसानले मकै रोप्न हतार गर्नुभयो', उनले भने, 'कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो।'

मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ। दाना नलागेका किसानको विवरण संकलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उनले बताए। किसानलाई कसरी राहत पुर्‍याउन सकिन्छ भनेर आफूहरुले अनुगमन गरिरहेको उनले बताए। नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण संकलन गरिरेहेको छ। 

किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरुले  विवरण संकलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी दिए।

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो।  

जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छ भने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend