शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १६ २०८०
लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेरर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौं फर्किएका छन्।

सोलुखुम्बु- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरू मर्कामा परेका छन्।

पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका हुन् । 

पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत लुक्ला हुँदै उकालो लाग्ने गर्छन्। तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसक्दा रामेछापको मन्थलीमा नै पर्यटक रोकिएको पर्यटन व्यवसायी फूर्वा शेर्पाले बताए। 

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार बिहीबार काठमाडौं र मन्थलीबाट लुक्लामा ४० उडान तालिका भए पनि मौसमका कारण अधिकांश रद्द भएको थियो।

'मन्थलीबाट बिहान पर्यटक लिएर लुक्ला आएको चार वटा विमान मौसमका कारण लुक्लामा नै रोकिएको प्रमुख पन्थीको भनाइ छ। बिहान मौसम अलिक खुलेकाले विमान आयो तर फर्किन सकेन, भिजिभिलिटी नपुगेकाले जहाज यही रोकिएको छ', उनले भने।

बुधबार पनि मौसमले साथ नदिँदा लुक्लाको अधिकांश उडान स्थगित गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।

सगरमाथा क्षेत्रबाट काठमाडौं फर्किन चाहाने एकसय जना भन्दाबढी पर्यटकहरू अहिले लुक्लामा रोकिएको तारा एयरलाइन्स लुक्लाका प्रमुख अमृत मगरले बताए।

मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेरर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौं फर्किएका छन्।

रामेछापको मन्थलीमा दुईभन्दा धेरै पर्यटकहरू लुक्ला जानका लागि मौसम अनुकुलताको पर्खाइमा रहेको स्थानीयवासी जगत थापाले बताए। उनका अनुसार काठमाडौंबाट सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटक उडान प्रभावित हुँदा मन्थलीमै रोकिएका पुगेका हुन्।

‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाल बताए। 

उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन्। रासस


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend