शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

म्याद गुज्रियो, बनेन पुल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २८ २०७८
म्याद गुज्रियो, बनेन पुल

जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ।

जाजरकोट- डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ। दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन्।

डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो।

जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ। जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन्।

जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ। यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन्। भेरी करिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन्। 

कहिले बन्ला? 

भेरी करिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए। हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य सुरु भइरहेकाले अबको तीन महिनाभित्र जडानकार्य समेत सकिने प्रमुख झाको भनाइ छ। डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे।

भेरी करिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ। नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो। सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो।

पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम सुरु गरिएको थियो। यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन। सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ। जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्याङ्कनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम सुरु भएको सडक डिभिजनका प्रमुख झाले बताए।

जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रपुख गोरखबहादुर केसीले लिएका छन्। उनले हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन। रासस


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend