शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

श्री एयरलाइन्सले दुईवटा जहाज थप्याे, अब हेलिकोप्टरसहित १८ वटा वायुयान

मंगलबार, चैत १३ २०८०
श्री एयरलाइन्सले दुईवटा जहाज थप्याे, अब हेलिकोप्टरसहित १८ वटा वायुयान

काठमाडौं- श्री एयरलायन्सले ८० सिट क्षमताका दुईवटा 'बम्बार्डियर ड्यास-८-क्यू-४००' जहाज थपेको छ। योसँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको छ।

थपिएका विमानबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने श्रीले जनाएको छ। जहाज थपिएसँगै तुम्लिङटार तथा भरतपुर विमानस्थलमा समेत नियमित उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले सन् २०१९ मा २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडानिर्मित बम्बार्डियर ड्यास-८-क्यू-४०० जहाज ल्याएको थियो। त्यसअघि यसले ५० र ७० सिटका सीआरजे विमान आन्तरिक उडानमा ल्याएको थियो।

सुरुमा श्रीले काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडान नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो।

मंगलबार ल्याइएका दुइटा बम्बार्डियर ड्यास-८-क्यू-४०० जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाउँदै आइरहेका थिए।

shree new.jpg

श्रीका प्रबन्धक अनिल मानन्धरका अनुसार अत्यन्तै आरामदायक, सुरक्षित यी जहाजलाई श्रीकै पाइलटहरूले अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको कायरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गराएका हुन्।

अमेरिकाबाट नेपाल पुग्न यी दुवै विमान तीनवटा रात्रिबिसानमा २५ घण्टामा करिब १० हजार माइल (१६ हजार किलोमिटर) को हवाई दूरी पार गर्दै मंगलबार अपराह्न काठमाडौंमा अवतरण भएका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका कानूनी प्रक्रियाहरू यथाशीघ्र पूरा गरी यी विमानहरूलाई श्री एयरलायन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरूमा उडान थप गर्ने जनाएको छ।

श्रीले यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरूभन्दा दोबर शक्तिशाली (५४०० सफ्ट हर्षपावर) भएको तथा क्यानडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित इन्जिन रहेको जनाएको छ।

उद्योगपति स्वर्गीय बनवारीलाल मित्तलले ६३ वर्षको उमेरमा २०५५ सालमा हेलिप्कटरहरूबाट श्री एयरलायन्स स्थापना गरेका थिए।

श्री एयरलाइन्स नेपाल तथा दक्षिण एसिया क्षेत्रबाट संयुक्त राष्ट्र संघअन्तर्गतको विभिन्न शान्ति मिसन तथा विश्व खाद्यय कार्यक्रमको हेलिकप्टरहरूबाट अन्तर्राष्ट्रिय चार्टर उडानसमेतमा सञ्चालन गर्ने पहिलो हवाई कम्पनी पनि हो।

८ हेलिकप्टरबाहेक आफ्ना विमानहरूबाट समेत अन्तर्राष्ट्रिय यात्रु तथा विशेष समयमा कार्गो ढुवानी चार्टर उडान सुरु गरी छोटो समयमा सफलता प्राप्त गरेको र विदेशबाट एयर एम्बुलेन्स विमान ल्याउन नपर्ने गरी आफ्ना विमानहरूबाट बिरामीहरूलाई उपचारका लागि विदेश लाने सेवासमेत यसले प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : मंगलबार, चैत १३ २०८०१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend