शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बलेवा विमानस्थल : सात करोड खर्चिएर दुई वर्षअघि धावनमार्ग कालोपत्र, जहाज उडान भने अझै ठप्प

शनिबार, चैत १० २०८०
बलेवा विमानस्थल : सात करोड खर्चिएर दुई वर्षअघि धावनमार्ग कालोपत्र, जहाज उडान भने अझै ठप्प

विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको सात करोड रूपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ। कालोपत्र गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन्।

बागलुङ- विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन। त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङ लगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए। मोटरबाटो नभए पनि बागलुङ नगरपालिका-१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो। त्यो बेला यहाँ नियमितरुपमा हवाईसेवा सञ्चालनमा थियो।

स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका हुन्। बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ सडक सञ्जालसँग जोडिएको हो। त्यसलगत्तै बलेवा विमानस्थलमा जहाड उड्न छाडे। विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ पालिकाको पहलमा २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आयो। तर त्यसले निरन्तरता भने पाउन सकेन। नौ महिनापछि धावनमार्ग कच्ची भएको कारण देखाएर विमानस्थलमा जहाड उडान बन्द भयो।

विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको सात करोड रूपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ। कालोपत्र गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन्।

बागलुङ नगरपालिका-१४ का सुरेन्द्र थापाले विमानस्थल सञ्चालनका लागि सरोकारवालाले ध्यान नदिएको गुनासो गरे। 'हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए। पसिना बगाएर विमानस्थल निर्माण गरे। तर हवाईसेवा ठप्प छ', उनले भने।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर छेउमै रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बागलुङ नगरपालिका-१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए। विमानस्थल सञ्चालनमा ल्याउन सके यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने उनले बताए।

बागलुङ बजारदेखि बलेवा विमानस्थल पुग्न १२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ। बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थल सञ्चालन गर्न कालीगण्डकी करिडोर कालोपत्र हुनुपर्ने बताए। विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत, म्याग्दीलगायतका स्थानीयलाई सहज हुने र धौलागिरी क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend