शनिबार, वैशाख १५ गते २०८१    
images
images

उडान बन्द भएको साढे पाँच वर्षपछि एयर एसिया नेपाल उडानमा फर्किन लागेको हो?

२५ करोड रूपैयाँ २४ किस्तामा तिर्नेगरी सम्झौता

images
images
images
उडान बन्द भएको साढे पाँच वर्षपछि एयर एसिया नेपाल उडानमा फर्किन लागेको हो?
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरेको साढे पाँच वर्षपछि मलेसियन वायुसेवा कम्पनी 'एयर एसिया'ले पुन: नेपाल उडानमा फर्कने संकेत गरेको छ।

images
images
images

२०७५ असोज २७ गतेदेखि एयर एसियाको काठमाडौं उडान बन्द भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने सेवा शुल्कबापतको रकम भुक्तानी विवादका कारण एयर एसियाले उडान बन्द गरेको थियो। 

images

२०७५ असोज २७ गते तत्कालीन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बक्यौता रकम नै नतिरी नेपालमा उडान बन्द गर्न लागेको भन्दै एयर एसियाको जहाज विमानस्थलमा रोकिदिएका थिए। उक्त दिन एयर एसियाको अन्तिम उडान तय भएको थियो। 

images

तत्कालीन समयमा १८ करोड रूपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरेको र भुक्तानी नहुँदासम्म जहाज नै लैजान नदिने भन्दै विमानस्थलमा कार्यालयले जहाज उडानमा प्रतिबन्ध लगाएको थियो। तर एयर एसियाले दूतावासमार्फत बक्यौता रकम तिर्ने प्रतिबद्धता गरेर जहाज लगेको थियो। 

images
images

त्यसपछि एयर एसिया पुरानो बक्यौता रकम तिर्नका लागि सम्झौताअनुसार सम्पर्कमा आएको थिएन। नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेदा गर्दा पनि कुनै चासो देखाएको थिएन। तर अहिले साढे पाँच वर्षपछि एयर एसिया पुरानो बक्यौता रकम तिर्न सहमत भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार एयर एसियाले हरेक अंग्रेजी महिनाको २८ तारिखमा १ करोड रूपैयाँका दरले २४ महिनामा २४ करोड रूपैयाँ भुक्तानीका लागि बैंक ग्यारेन्टी बुझाएको छ। सहमतिसँगै उसले १ करोड १५ लाख रूपैयाँसमेत बुझाएको छ। रकम बुझाउन थालेको एयर एसियाले उडानका लागि भने अहिलेसम्म कुनै निवेदन दिएको छैन।

उडानका लागि निवदेन नदिएपनि पुरानो रकम भुक्तानी गर्न सहमति जनाउँदै रकम तिर्न थालेपछि नेपाल उडानमा आउन लागेको संकेत बुझिएको छ।

एयर एसिया बजेट एयरलाइन्स हो। पुन: नेपाल उडानमा फर्कंदा मलेसियाको यात्रामा सहज हुनुका साथै टिकटसमेत सस्तो हुने अनुमान गरिएको छ।

एयर एसियाले उडानका लागि आवश्यक जिएसए नियुक्तीसमेत गरेको विषय प्राधिकरणलाई जानकारी गराएको छैन। तर युनिभर्सल ट्राभलले एयर एसियाको जिएसए लिएको बताइएको छ। अहिले जिएसए छनोट पनि प्राधिकरणबाट अनुमोदन हुनुपर्छ। 

कसरी बाहिरिएको थियो एयर एसिया?

नियमित उडान गरिरहेको एयर एसियाले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई विमानस्थल विकास शुल्क तथा पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटन शुल्कबापतको रकम बुझाएको थिएन।

यो रकम एयरलाइन्सको टिकट खरिदमा यात्रुसँग नगद नै लिने गरेको थियो। तत्कालीन समयमा एयर एसियाको नेपाल प्रतिनिधि पर्यटन व्यवसायी हरिमान लामा थिए। लामाले एयर एसियाले तिरेको रकमसमेत प्राधिकरणलाई बुझाएका थिएनन्।

विमानस्थल कार्यालयको माथिल्लो तहका कर्मचारीको मिलोमतोमा लामो समयदेखि तिर्नुपर्ने रकम नै नतिरी उडान गरिरहेको थियो। उडान सुरु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रूपैयाँ पुगेको थियो।

त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रूपैयाँ बुझाउनुपर्ने भइसकेको थियो।

एयर एसियाको नेपाल एजेन्ट लामाले पटकपटक विमानस्थल कार्यालयलाई कहिले १५ दिन त कहिले एक महिनामा बाँकी बक्यौता रकम दाखिला गर्ने सहमति गरे। तर रकम तिरेनन्।

अन्तत: एयर एसियाको उडान नै बन्द हुन पुगेको थियो। त्यसैबीचमा विमानस्थल कार्यालयले एयर एसिया हेड अफिसलाई नै पत्र काट्यो। पत्र काट्दै कार्यालयले पुरानो बक्यौता भुक्तानी नगरे कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको थियो। 
 
पत्र काटेलगत्तै एयरलाइन्सका प्रतिनिधि नेपाल आए। दुईपक्षीय छलफलमा एयरलाइन्स कम्पनीले मासिक ५ देखि साढे ५ करोड रूपैयाँका दरले रकम तिर्ने लिखित सम्झौता गर्‍यो। तर एयरलाइन्सका प्रतिनिधिले विलम्ब शुल्क भने छुट गरिदिनुपर्ने माग गरेका थिए।

कम्पनीको प्रस्तावलाई विमानस्थल कार्यालयका तत्कालीन प्रमुख क्षेत्रीले भने शुल्क छुट नहुने जवाफ दिए। त्यसपछि कम्पनीले तीन किस्तामा १६ करोड रूपैयाँ बक्यौता दाखिला गर्‍यो।

त्यसपछि फेरि कम्पनीले किस्ता तिर्न ढिलाइ गरेपछि विमानस्थल कार्यालयका प्रमुखले बेलाबेला कम्पनीको उडान कहिले ३० मिनेट त कहिले ४० मिनेट बन्द गरिदिएका थिए। उडानमा अवरोध गर्न थालेपछि एयरलाइन्स कम्पनीले जुलाई महिनाको बक्यौता चुक्ता गर्दै उडान बन्द गर्ने अनौपचारिक खबर दिएको थियो।

त्यसैबीच मलेसियाको रोजगारीमा जाने कामदारमाथि थप आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था, माइग्राम, आईएसी र ओएसीजस्ता अवैधानिक रकम विवादका कारण मलेसियाको रोजगारी नै बन्द हुन पुग्यो।

जसको प्रत्यक्ष असर एयर एसियाले भोग्नुपर्‍यो। एयर एसियाले मलेसियाबाट काठमाडौं आउँदा ८० देखि ९० प्रतिशत ‘अकुपेन्सी’मा नै आइरहेको थियो। तर काठमाडौंबाट जाँदा भने ३ सय यात्रु क्षमताको जहाजमा ३० देखि ४० यात्रु लिएर गइरहेको थियो। जसका कारण अन्ततः एयरलाइन्सले नेपाल उडान नै बन्द गरेको थियो। फेरि अहिले उडानमा आउने संकेतसहित पुरानो बक्यौता तिर्न थालेको हो।

images

प्रकाशित : शनिबार, चैत १० २०८०११:१८

प्रतिक्रिया दिनुहोस