शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

म्याग्दीखोलामा चार जलविद्युत् आयोजनाको निर्माण सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २७ २०७८
images
म्याग्दीखोलामा चार जलविद्युत् आयोजनाको निर्माण सुरु

'दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन्, थप दुई तयारीमा छन्।'

images
images

म्याग्दी- जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन्। संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन्।

images
images
images

थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका मालिका गाउँपालिका-७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए।

images
images

'नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन', उनले भने, 'दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन्, थप दुई तयारीमा छन्।'

images
images

गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ। आयोजनाका इञ्जिनीयर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको जानकारी दिए।

गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ। बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ। मालिका-७ बिम र धवलागिरि गाउँपालिका-७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ।

धवलागिरि गाउँपालिका-४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ। हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले बिमको शिवरात्री खोलादेखि भारबाङ, कल्लेनी, छहरीहुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्याक खोलिसकेको जानकारी दिए।

धवलागिरि-४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माणअघि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताए।

आयोजना निर्माणका लागि ठेक्का आह्वान गर्न टेण्डर डिजाइन, निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिसकेको उनले बताए। अप्पर हाइड्रोपावर प्रालि काठमाडौंले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी-१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ। 

बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम गरिरहेको आयोजनाले प्रशारण लाइन पुगेपछि बाँध, सुरुङ र विद्युत्गृह निर्माणलाई तीव्रता दिने जनाएको छ। कल्लेनी हुँदै आयोजनाको बाँध निर्माणस्थल खाम्ला जोड्ने पहुँचमार्ग निर्माण भइरहेको छ। 

धवलागिरि-४ मुदीको खाम्ला नजिकै बाँध र मालीका-७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो। पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसाल्ने कम्पनीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०७:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend