शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अन्नपूर्णमा आउन थाले आरोही

मंगलबार, चैत ६ २०८०
अन्नपूर्णमा आउन थाले आरोही

अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक/एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन्।

म्याग्दी- म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन्। 

वसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ। जंगे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए।

'यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,' उनले भने, 'म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन्।' अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक/एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन्।

अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण-४ नारच्याङको भूगोलमा पर्छ। गत बसन्त याममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए।  शरद्याममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ।

यसपालि अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गरेका छन्। सन् २०२६ भित्र बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ।

सेभेन समिट ट्रेक्समार्फत बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गरेका थिए। पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरेका थिए।

विश्वमा हालसम्म छजना आरोहीले मात्र बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन्। फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलोपटक आरोहण गरेका थिए।

अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो। विसं २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको नारच्याङ-अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग प्रथम आरोही मौरिजका नाममा नामकरण गरिएको छ। नारच्याङबाट दोस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ। रासस


प्रकाशित : मंगलबार, चैत ६ २०८०१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend