शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

सोमबार, चैत ५ २०८०
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ। वरिपरिको हरियाली, डाँडाकाँडा र वनजंगलले पोखरीको सौन्दर्य थपेको छ। जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ।

फिक्कल- इलामको माई नगरपालिका-१ र ३ संगमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्।

स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत  जिल्लाका पर्यटक सिमसार र पोखरी र अलोलकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिंह राई बताउँछन्। पोखरीमा डुंगा सञ्चालन गरेपछि पर्यटक आउन थालेका उनले बताए।

समितिले पोखरीमा दुईवटा डुंगाको व्यवस्था गरेको छ। पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताए। 'पोखरीमा डुंगा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भए पनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ', अध्यक्ष राईले भने, 'डुंगाबाट पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन्।'

पर्यटक प्रतिव्यक्ति एकसय रूपैयाँको टिकट काटेर नौका विहारमा रमाउने गरेका छन्। तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका स्थानीय पर्वत राईले बताए। 'शनिबार र सार्वजनिक बिदाका अन्य दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गरेको छ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ', उनले भने, 'सिजनको बेला वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन्।'

तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताए। इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो। 

विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ। सिमसार क्षेत्र तीन सय रोपनी भएपनि पोखरी क्षेत्र भने एक सय रोपनीमा सीमित छ। नागबेलीजस्तो देखिने १३ वटा कुना भएकाले यसको नाम तेह्रकुने राखिएको अध्यक्ष राईले बताए।

वरिपरिको हरियाली, डाँडाकाँडा र वनजंगलले पोखरीको सौन्दर्य थपेको छ। जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ। विशेष गरी आदिवासी राई समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको सांस्कृतिका बारेमा पनि जान्न सकिन्छ। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend