सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

रैथाने बाली जोगाउन ‘भकारो सुधार’ कार्यक्रम

आइतबार, चैत ४ २०८०
रैथाने बाली जोगाउन ‘भकारो सुधार’ कार्यक्रम

सुधारिएको गोठ निर्मासँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

मान्म- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन  गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ। रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनोलगायतको उत्पादन वृद्धि गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

सुधारिएको गोठ निर्मासँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।

हालसम्म ८३ वटा सुधारिएको गोठ निर्माण गरिसकिएको गाउँपालिकाका कृषि प्राविधिक नारायणप्रसाद लम्सालले जानकारी दिए। 'अब १० गोठ निर्माणको चरणमा छन्', उनले भने, '५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसान समूह, कृषि सहकारी, कृषि फार्ममार्फत गोठ निर्माण गरिरहेको छ।'

सुधारिएको गोठबाट मलमूत्र संकलन गरी खेतबारीमा हाल्ने गरिएको लम्सालले बताए। 'स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनो लगायतको उत्पादन वृद्धि गर्नुका साथै ती बाली जोगाउने अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको छ', उनले भने, 'गाउँपालिकामा एक सय २५ समूह क्रियाशील छन्। ती समूहमार्फत बर्सेनि गोठ निर्माण गरिँदै आएको छ।'

चालु आर्थिक वर्षमा यसका लागि गाउँपालिकाले पाँच लाख र संघीय सशर्त अनुदान २० लाख रूपैयाँ विनियोजन गरिएको प्राविधिक लम्सालले बताए। 'भकारो सुधार गरी कुहिएर मलमा भएको खाद्य तत्व सुरक्षित रुपमा बालीमा प्रयोग गरेमा रासायनिक तथा विषादीको प्रयोग निरुत्साहित गर्न यसले प्रभावकारी भूमिका खेल्नेछ', उनले भने, 'कार्यक्रमअन्तर्गत गाईभैँसी बाँधेको गोठदेखि कुलेसो बनाइ नजिकै खाडल निर्माण गरी मलमूत्र संकलन गर्ने तथा मलखाद व्यवस्थापनको काम गरिनेछ।' रासस


प्रकाशित : आइतबार, चैत ४ २०८०१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend