सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वर्षा नहुँदा सुक्न थाले अलैँची बगान, उत्पादन घट्ने किसानको चिन्ता

आइतबार, चैत ४ २०८०
वर्षा नहुँदा सुक्न थाले अलैँची बगान, उत्पादन घट्ने किसानको चिन्ता

ताप्लेजुङका अलैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन्। लामो समयसम्म वर्षा हुन सकेको छैन। वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन्। अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ।

फुङ्लिङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ। लामो समय वर्षा नहुँदा अलैँची बगान सुक्न थालेपछि बिहान-बेलुका उनी अलैँची बगानमै भेटिन्छन्।

सुख्खा मौसमका करणले अलैँची बगान सुक्न थालेपछि सोही गाउँपालिका-६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन्। सिरिजङ गाउँपालिका-६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन्।

ताप्लेजुङका अलैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन्। लामो समयसम्म वर्षा हुन सकेको छैन। वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन्। अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ।

समयमै सिँचाइ गर्न सकिएन भने अलैँची बगान नै सुक्ने शेरबहादुर लिम्बूले बताए। उनले भने, 'अहिले १६ वटा स्प्रिङकल (सिँचाइ गर्ने मेसिन) घुमाइ राखेको छु। एक ठाउँबाट अर्कोमा सार्नमै व्यस्त छु।' 

यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ। वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ। हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका-६ सिद्धिडाँडाका कृष्ण गुरुङको भनाइ छ। आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

विगत वर्षमा पुसमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो। तर यसवर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन। हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोतमा पनि कमी हुँदै गएको किसान बताउँछन्।

सिरिजङ-६ माङ्माखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ। अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने उनको भनाइ छ। साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्नुपर्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ।

सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल हालेर त्यसलाई भिजाउँछन्। जरामा चिस्यान रहोस् भनेर पतझड्ले छोप्ने र त्यसमा सिँचाइ गर्ने गरिन्छ। यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा पानी नहुँदा असर परेको छ।

वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ। यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ। पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ। जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई असर पर्ने किसान बताउँछन्। 

अलैँचीलाई ओसिलो जमिन र सिँचाइ सुविधा अनिवार्य चाहिन्छ। एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा ६१ वडा छन्। फक्ताङलुङ-७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ।

जिल्लाको मुख्य आम्दानीको स्रोत नै अलैँची हो। अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलो) अलैँची ७९ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको किसान बताउँछन्। रासस


प्रकाशित : आइतबार, चैत ४ २०८०१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend