सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ गाउँपालिका

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ४ २०८०
बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ गाउँपालिका

वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ। उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ।

इलाम- इलामको माङसेबुङ गाउँपालिका-१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ। स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो।

'कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ', वडाध्यक्ष भूपाल योङहाङले भने, 'तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ।'

पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ।

सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिए। उनका अनुसार वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ।

उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ। सुरुमा २८ किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकासी थालिने वडाध्यक्ष योङहाङले बताए।

उत्पादन सुरु भएपछि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बाहिर निकासी गरिने सम्झौतापत्रमा उल्लेख छ। 'उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ। साथै समग्र माङसेबुङ गाउँपालिका वा १ नं वडाको पहिचान/अपनत्व झल्कने गरी ब्राण्डिङ गरिनेछ', वडाध्यक्ष योङहाङले भने। बेसार गाउँपालिका र जिल्ला बाहिर निर्यात गरी किसानलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको वडाध्यक्ष योङहाङले जानकारी दिए।

इलाममा  बेसारको राम्रो उत्पादन हुँदै आएको छ। यस वर्ष इलाममा एक हजार नौ सय सात मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए। बेसार १० गुणा बढी फल्ने किसान बताउँछन्। एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानको भनाइ छ।

बेसार विभिन्न जाताका हुन्छन्। मसलाका रुपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ। यसलाई औषधीय गुणका रूपमा लिने गरिन्छ । 

बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो। समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइसम्म बेसारखेती गर्न सकिन्छ। यसको खेती सिञ्चित र असिञ्चित हल्का कालोदेखि दोमट र रातो माटफमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त मानिन्छ।

इलाममा एक सय २३ हेक्टर क्षेत्रमा बेसारखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। बेसारखेती नगदे बाली भएकाले यसप्रति किसानको आकर्षण बढेको केन्द्रका निमित्त प्रमुख यादव बताउँछन्। रासस 


प्रकाशित : आइतबार, चैत ४ २०८०१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend