आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पृथ्वी राजमार्ग सडक विस्तारमा बढ्दै छ कामको तीव्रता, रातको समयमा पनि खटिन्छन् ५० कामदार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १४ २०८१
पृथ्वी राजमार्ग सडक विस्तारमा बढ्दै छ कामको तीव्रता, रातको समयमा पनि खटिन्छन् ५० कामदार

गण्डकी प्रदेशको राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडक स्तरोन्नतिमा सबैको चासो रहँदै आए पनि लक्ष्यअनुरुप काम हुन नसक्दा आलोजना भएको थियो।

तनहुँ- पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ। 

दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले राससलाई जानकारी दिए।

दिनरात र बिदाको समयमा पनि आफूहरु खटिएकोले  हाल २३ प्रतिशतभन्दा धेरै प्रगति हासिल गरेको उनले बताए। पश्चिम खण्डमा नौ दशमलव दुई किलोमिटर सडक पक्की निर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताए। 

ठेकेदार कम्पनीले पनि उक्त आयोजनालाई प्रतिष्ठाको विषय बनाएकोले करिब एक सय जना चिनियाँ प्राविधिकसहित सडक विस्तार तीव्र पारिएको चिनियाँ कम्पनीका साईड इञ्जिनियर छन्ज लोनले जानकारी दिए।

'सडक विस्तारलाई तीव्र पार्न एक सय जना त चिनियाँ प्राविधिक नै खटिएका छन्', इञ्जिनीयर छन्ज लोनले भने, 'यो सडक विस्तारलाई प्रभावकारी तवरले कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा हामी जुटिरहेका छौँ।'

आफूहरुले दिनरात गरी सडक विस्तारलाई अघि बढाएकाले २३ प्रतिशतले प्रगति भएको आयोजनाले जनाएको छ। गण्डकी प्रदेशको राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडक स्तरोन्नतिमा सबैको चासो रहँदै आए पनि लक्ष्यअनुरुप काम हुन नसक्दा आलोजना भएको थियो। 

जामुनेदेखि पोखरासम्म ३८ दशमलव ८८ किलोमिटर दूरीको यस खण्डमा चार वटा ठूलो र आठ वटा सानो गरी १२ वटा पुलसमेत धमाधम निर्माण भइरहेको आयोजना पश्चिम खण्डले जनाएको छ।

पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब बीस किलोमिटर खण्डमा छ लेन रहने गरी ४६ मिटर फराकिलो र जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक खण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए। 

७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा २०७८ जेठ ३ गते ठेक्का सम्झौता भएको हो। जामुनेदेखि आँबुखैरेनीसम्मको ४२ किलोमिटर सडक खण्डको प्रगति भने ५६ प्रतिशतभन्दा धेरै रहेको पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। यस खण्डको २०७८ बैशाख २ गते सम्झौता भइ २०८१ बैशाख २ गते म्याद सकिए पनि ठेकेदार कम्पनीले कामलाई तीव्र पारेको यादवले बताए।

यस खण्डको म्याद सकिए पनि दिन र रातको समयमा पनि काम गरी सडक विस्तार तीव्र पारिएको यादवले बताए। यस खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोडमा पाएको हो। एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो। रासस


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend