सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

धवलागिरि क्षेत्रबाट लोप हुँदै जौबाली

बिहीबार , चैत १ २०८०
धवलागिरि क्षेत्रबाट लोप हुँदै जौबाली

म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

म्याग्दी- धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ।

मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिककार्यहरूमा अनिवार्य ठानिने कृषिउपज जौ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन्।

बेनी नगरपालिका-२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौ खानका लागि पौष्टिक र धार्मिककार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताए। त्यसका साथै गाईभैँसीका लागि पनि जौ अत्यन्त उपयोगी खुराक भएको उनको भनाइ छ।

उनले भने, 'धार्मिक महत्वसमेत रहेको जौको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ।'

मालिका गाउँपलिका-६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो। गाउँमा कतै चामल पाइँदैन थियो। त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जौको सातु बनाएर खाने गरेको उनले बताए।

मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती बिस्तारै लोप हुँदै गएको पुनले बताए।

म्याग्दीका बेनी नगरपालिकाका साथै मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मंगला गाउँपालिका-२ का हरिकृष्ण पौडेलले बताए।

बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जौले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौ लगाउन छाडेर गहुँखेती गर्दै आएका छन्।

बालबालिकाको स्वास्थ्यमा पनि जौले निकै फाइदा दिने गरेको छ। जौ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन्।

विवाह र देउताको पूजापाठमा समेत जौ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन्। म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , चैत १ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend